सिराज खान
नेपालगन्ज, वैशाख १४ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल गत दुई महिनादेखि प्रमुख विहीन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाशप्रसाद साहको दुई महिनाअघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि उहाँको ठाउँमा कसैलाई नपठाउँदा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको हो ।
अस्पतालमा कार्यरत डा. प्रवीण गुप्तालाई निमित्त निर्देशकको जिम्मेवारी दिए पनि उहाँलाई आर्थिक अधिकार नदिंदा अस्पतालको प्रशासनिक लगायत आर्थिक कार्यहरू प्रभावित भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यकारी निर्देशक पठाउन ढिलाई गरेका कारण अस्पतालको आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएको अस्पताल विकास समितिका सदस्य महेन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रमुख नआउँदा कर्मचारीहरूले तलब खान पाएका छैनन् भने रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ । प्रयोगशाला सेवा प्रभावित हुन थालेपछि त्यसको मार बिरामीलाई पर्न थालेको छ । बिरामीहरूलाई चेकजाँचका लागि बाहिर पठाउनु पर्ने बाध्यता हुन थालेको छ । यसले बिरामीहरूलाई आर्थिक भार थपिने स्थिति उत्पन्न भएको छ ।
त्यसैगरी प्रमुख नहुँदा अस्पतालका भौतिक पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन थालेको पनि अस्पताल विकास समितिका सदस्य मल्लले बताउनुभयो । डे केयर भवन, अस्पताल फार्मेसी, ल्याव भवनको निर्माण कार्य पनि प्रभावित हुन थालेको उहाँको भनाइ छ ।
छिटोभन्दा छिटो अस्पतालको प्रमुख पठाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई दिनहुँ जसो आग्रह गर्ने गरिएको पनि अस्पताल विकास समितिले जनाएको छ ।
मन्त्री पौडेलले छिटो पठाउने आश्वासन दिँदै आए पनि हालसम्म प्रमुख नपठाउँदा समस्या बढ्दै गएको जनाइएको छ । पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल खजुरास्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।