• १४ वैशाख २०८२, आइतबार

तुराङलाई अध्यक्ष कपको उपाधि

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १४ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबलको उपाधि चन्द्रकोट गाउँपालिका-८, तुराङले जितेको छ । तेस्रो अध्यक्ष कपको अवसरमा अन्तरपालिका खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको चन्द्रकोट गाउँपालिका-८ तुराङले वडा ५ ग्वाघालाई हराएको हो ।

प्रथम हुँदै तुराङले ७० हजार रुपियाँ नगदसहित नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको ग्वाघाले ५० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको बाग्लुङको बरेङ गाउँपालिका-३ ले ३० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने सम्पूर्ण खेलाडी तथा समूहलाई गाउँपालिकाले बधाईसहित धन्यवाद ज्ञापनसमेत गरेको छ ।

प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुहुँदै लुम्बिनी प्रदेशका सामाजिक विकास पूर्वमन्त्री सुदर्शन बरालले प्रतियोगिताले युवामा सकारात्मक सोच विकास गर्ने, समाजमा एकता र गतिशीलता ल्याउने बताउनुभयो । वैशाख ११ गते लोकतन्त्र दिवसको दिनदेखि सुरु भएको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले गर्नुभएको थियो ।

तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाभित्रका १० समूहसहित मुसिकोट नगरपालिकाका दुई टोली, कालीगण्डकी गाउँपालिका, बाग्लुङको बरेङ गाउँपालिका र बडिगाड गाउँपालिका गरी १६ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितालाई सफल बनाउन पालिकाभित्र र बाहिरका सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीको योगदान रहेको गाउँपालिकाले जनाएको छ ।