घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), वैशाख १४ गते । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–७ मा एउटा ऐतिहासिक भग्नावशेष छ, जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णाली नदीलगायत सुर्खेतका गाउँ र हिमाल देखिन्छन् भने दक्षिण तराई खण्ड छर्लङ्ङ देखिन्छ । त्यसैले पनि त्यो ठाउँ पुग्ने जोकोहीले रमणीय ठाउँका रूपमा लिने गरेका छन् । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँको भने प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
राजकाँडा–धुलीकोट दरबारको ऐतिहासिक महत्व एकातर्फ छ भने अर्कोतर्फ त्यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको मनोरम दृश्य मनमोहक नै रहेको त्यहाँ पुग्ने जोकोही बताउनुहुन्छ । धुलीकोट नामकरणका सन्दर्भमा प्राडा राजाराम सुवेदीले ‘धुलीकोट राज्यको ऐतिहासिक सर्वेक्षण’ लेखमा धेरै आधार उल्लेख गर्नुभएको छ । ती आधारमध्ये ‘धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलाली बडाचौरबाट हेर्दा घरको धुरी त्यसलाई धुरीकोटभन्दा भन्दै धुलीकोट भयो’ भन्ने उल्लेख छ ।
नेपाल एकीकरण हुनुपूर्व धुलीकोटमा बाइसे चौबिसे राज्य अन्तर्गत राजाले राज्य गरेको इतिहासकारले उल्लेख गरेका छन् । धुलीकोट राज्यसँग जोडिएका विभिन्न पौराणिक पुरातत्व अहिले पनि सो क्षेत्रमा देख्न सकिने स्थानीय बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको कर्णाली चिसापानीबाट तीन घण्टा पैदल यात्रामा राजकाँडा–धुलीकोट पुग्न सकिने बताइन्छ ।
पछिल्लो समय ऐतिहासिक महìव बोकेको रमणीय ठाउँ राजकाँडा–धुलीकोट प्रचारप्रसार गर्दै पर्यटन प्रवर्धनमा लाग्न थालिएको छ । सो क्षेत्रको पर्यटन विकासका लागि पर्यटन बोर्ड, पर्यटन व्यवसायी, स्थानीय सरकार र सरोकारवाला निकायले जोड दिन थालेका छन् ।
यसै अनुरूप सो क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवर्धनका लागि कैलालीको चिसापानीदेखि ऐतिहासिक दरबार धुलीकोटसम्म पदयात्रा प्रतियोगिताको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा, लम्कीचुहा नगरपालिका प्रवर्धक रहने गरी नवलसिंह रावल फाउन्डेसनको आयोजनामा वैशाख १८ गते पदयात्रा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावले उक्त पदयात्रामा सुदूरपश्चिम प्रदेश सरकारको सिङ्गो टिमसहित ८८ वटा पालिकाका प्रमुख तथा उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्षलगायतको बृहत् उपस्थिति रहने बताउनुहुन्छ । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले चिसापानी पुल सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार रहेको र सोही स्थानमा जाल्पादेवी केबुलकार निर्माणको चरणमा रहेको जनाउँदै चिसापानी राजकाँडा क्षेत्रलाई पर्यटनको हब बनाउने गरेर स्थानीय तहले काम थालेको जानकारी दिनुभयो ।