• १४ वैशाख २०८२, आइतबार

पार्टी एकतालाई लिएर कार्यकर्ता उत्साहित

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १४ गते ।  आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् । दुवै पार्टीबिचको एकता वैशाख १७ गते घोषणा हुँदै छ । 

एकताका लागि दुवै पार्टीले आआफ्नो बैठक पनि बोलाइ सकेको छ । जनमत पार्टीले वैशाख १६ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीले वैशाख १५ गतेका लाग केन्द्रीय समितिको बैठक बोलाएको छ । 

दुई पार्टीको एकताले शक्तिशाली नागरिक जनमत पार्टीको निर्माण हुने भन्दै उनीहरू उत्साहित देखिएका हुन् । यो एकताले ठुलो राष्ट्रिय पार्टी निर्माण हुने उनीहरूको दाबी छ ।  एकताको विषयलाई लिएर नेता, कार्यकर्ता सबै सकारात्मक रहेको नागरिक उनमुक्ति पार्टी कैलारी गाउँपालिकाका संयोजक शङ्कर चौधरीले बताउनुभयो । दुई पार्टीबिचको मिलनले पार्टीको सङ्गठनात्मक संरचना अझ बलियो बन्दै जाने उहाँको विश्वास छ । 

शक्तिशाली राष्ट्रिय पार्टी निर्माण भएमा त्यसले आगामी निर्वाचनमा धेरै फाइदा हुने चौधरीले बताउनुभयो । यसै गरी नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको आन्तरिक कलह पनि पार्टी एकताले किनारा लाग्ने उहाँको विश्वास छ । “सबै कुरा राम्रो हुने भएकाले एकताको विषयमा कोही नाकारात्मक छैन,” उहाँले थप्नुभयो, “सबै नेता कार्यकर्ता सकारात्मक रहेको मैले पाएको छु । सबै जना एकताका लागि उत्साहित छौँ ।”

यसअघि भएको निर्वाचनबाट जनमत पार्टी राष्ट्रिय पार्टी बनेको थियो । कैलालीमा सबैभन्दा बलियो नागरिक उन्मुक्ति पार्टी भने थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चुकेको थियो । यो पार्टीले कैलालीमा तीन र बर्दियामा एक निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको चुनाव जितेको छ । 

यसै गरी प्रत्यक्षतर्फ पाँच जना प्रदेश सभामा विजयी हुनुभएको थियो । यो जिल्लामा जनमत पार्टीको प्रभाव कम रहे पनि पूर्वी तराईमा भने यो पार्टी शक्तिशाली रहेको छ । दुवै पार्टीको मिलन एउटा वैकल्पिक शक्ति बन्न सक्ने नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्नुहुने भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । उहाँले पार्टी एकतापछि सबै जना शक्तिशाली राष्ट्रिय पार्टीको सदस्य, जनप्रतिनिधि हुन पाउने उल्लेख गर्नुभयो । 

माग, मुद्दा र एजेन्डा मिलेका कारण नागरिक उन्मुक्ति र जनमतबिच एकताका लागि पहिलेदेखि नै एक खालको प्रयास जारी थियो । एकता हुने पछिल्लो निर्णयले सबैलाई उत्साहित बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम सहइन्चार्ज राजाराम चौधरीले बताउनुभयो । 

“एकता सकारात्मक छ र यसका लागि हामी नेता, कार्यकर्ता सबै उत्साहित छौँ,” उहाँले थप्नुभयो, “एकताको कुरा आएपछि बिचमा रन्जिताजीको अलि फरक बुझाइले दुई धार हुन्छ कि भन्ने डर थियो । अहिले उहाँ सकारात्मक हुनुहुन्छ ।” दुई पार्टीको एकताले परिणाम राम्रै ल्याउने चौधरीको बुझाइ छ ।