रेसुङ्गा समाचारदाता
रेसुङ्गा, वैशाख १४ गते । गुल्मीदरबार–३ की गङ्गा खासुले सनई बजाउनुहुन्छ । यो सबैभन्दा अप्ठ्यारो बाजा हो । समूहमा खासुले बाहेक अरूले सनई बजाउँदैनन् । उहाँले भर्खर नयाँ भएकाले भाका फेर्न नसके पनि काम चलाइरहेको सुनाउनुभयो । सोही गाउँकै बिना पुलामी र हिमकुमारी भुसालले नर्सिङ्गा र कर्नाल पालो गरेर फुक्नुहुन्छ । दिनभर बजाउँदा मुख दुख्ने, सजिलो भने पक्कै छैन ।
मुक्तिसरा खासुको ढोलकी र मैसरा पुलामीको टेम्कुडीसँगै समूहकी सबैभन्दा जेठ ५९ वर्षीय ज्ञानुमाया बस्नेतले झ्याली बजाउँदै हिँड्नुहुन्छ । समूहमा तीन जनाले दमाहा बजाउनुहुन्छ । गुल्मीदरबारका महिला समूहले बजाएको नौमती बाजाले गुल्मी महोत्सवमा सबैको ध्यान खिच्न थालेको छ । स मूहले बाजा बजाउन थालेका वर्षदिन भए । लामो समयदेखि बाजा बजाउँदै आएको परियार समुदायमा नौमती बाजा बजाउने कला युवामा पुस्तान्तरण नहुँदा लोप हुने अवस्था रहेको छ । अहिले फरक समुदाय नै बाजा बजाउन सक्रिय देखिन्छन् । त्योमध्ये पनि महिलाहरूको समेत नौमती बाजातर्फ आकर्षण बढिरहेको छ ।
गुल्मीदरबार–३ को देवीस्थान स्वास्थ्य आमा समूहलाई गाउँपालिकाले बाजा खरिद गरिदिएको छ । बाजासहित तालिम पनि पाएपछि दिदीबहिनीहरू उत्साहित भएर बाजा बजाउन हिँड्ने समूहको अध्यक्षसमेत रहनुभएकी गङ्गा खासुले बताउनुभयो । उहाँले धेरै ठाउँमा बाजा बजाउन पुगे पनि तोकेर पैसा नमागेको बताउनुभयो ।
महिलालाई दिनभर घरको काम छोडेर बजाउन हिँड्नुपर्ने भएकाले सहज छैन । त्यो माथि पितृसत्तात्मक सोचका कारण महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ । अधिकांश बुहारी भएकाले सुरु सुरुमा जुटाउन र घरबाट निस्कन निकै चुनौती भए पनि अहिले सहज बन्दै गएको दमाहवादक लीला थापाले बताउनुभयो । आफूलाई कमाउने लोभ नभएर संस्कृति संरक्षण र महिलाले गरे के हुँदैन भन्ने सन्देश दिनकै लागि बाजा बजाउँदै हिँडेको थापाको भनाइ थियो ।
त्यस्तै जिल्लाको धुर्कोट गाउँपालिका–१ का जनजाति बुहारी पनि अहिले नेपाली समाजमा लोप हुन थालेको नौमती बाजालाई अर्थोपाजनको गतिलो आधार बनाउन कस्सिएका छन् । नयाँगाउँका वर्षीय वसन्ता र दीपा थापा देउरानी–जेठानी हुनुहुन्छ । अहिले वसन्ताले सनइ र दीपा ढोलक बजाउँदै हिँड्नुहुन्छ । सोही गाउँकै सरस्वती मगरले पनि सनई फुक्नुहुन्छ । जनजाति समूहका ११ जना नै बुहारी हुनुहुन्छ ।
कार्यपालिका सदस्य प्रेम मुखियाले जनजातिलक्षित बजेटबाट जनजाति नौमती बाजा समूह धुर्कोट गाउँपालिका–१, नयाँगाउँ र वडा नं. ३ हाडहाडेका महिलालाई बाजा बजाउने तालिम र बाजा उपलब्ध गराएको जानकारी दिनुभयो । यो समूह पनि धेरै ठाउँमा बजाउन पुगेको छ । समूहकी सचिव दीपा थापाले आफूहरूले सिक्दै पनि रहेकाले १५ देखि १७ हजारसम्म पारिश्रमिक पाउँदै आएको बताउनुभयो । त्यस्तै सत्यवती गाउँपालिका–४, लिम्घाका महिलाहरूले समेत समूहमार्फत नौमती बाजा बजाउन थालेका छन् ।