• १४ वैशाख २०८२, आइतबार

उखु ‘क्रसिङ’ को विवरण माग

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १४ गते । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जिल्लाका तीन वटै चिनी उद्योगसँग उखु क्रसिङको विवरण माग गरेको छ । 

उखु किसानलाई अनुदान रकम उपलब्ध गराउने प्रयोजनका लागि चिनी उद्योगसँग किसानको नामावली र क्रसिङ परिमाण माग गरिएको हो । सर्लाहीमा इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल सञ्चालनमा रहेका छन् । 

यी तीन वटै चिनी उद्योगले दुई महिनाअघि नै उखु क्रसिङ बन्द गरिसकेका छन् । चिनी उद्योगले आव २०८१/८२ मा उखु खरिद गरिएको किसानको नामावली र क्रसिङको परिमाणसहित एक साताभित्र विवरण उपलब्ध गराउन पत्राचार गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंले जानकारी दिनुभयो । 

कोलेनिकाले बुधबार नै पत्राचार गरेर किसानको विवरण र क्रसिङ परिमाण माग गरेको हो । उखु कृषकलाई अनुदान रकम भुक्तानी दिने समितिको मङ्गलबार बसेको बैठकले ढाँचा नै तयार पारेर किसानको नामावली, पालिका, क्रसिङ गरिएको उखुको परिमाणलगायत खुलाएर चिनी उद्योगसँग विवरण माग गर्ने निर्णय गरेको थियो । 

कोलेनिकाले पत्राचार गरेपछि बिहीबार सदरमुकाम मलङ्गवास्थित कोलेनिका पुगेका तीन वटै उद्योगका प्रतिनिधिले एक साताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ । कृषि विभाग हुँदै मन्त्रालयले कोलेनिकामा रकम पठाउने र कोलेनिकाले किसानको खातामा पैसा हालिदिने व्यवस्था छ । उखुको अनुदानका लागि कोलेनिकाको खातामा रकम भने प्राप्त हुन बाँकी नै रहेको प्रमुख कोष नियन्त्रक गुरागाईंले बताउनुभयो । 

उखु किसानलाई प्रायः दसैँको छेका पारेर मात्रै अनुदान रकम पठाउने गरिएको छ ।