• १३ वैशाख २०८२, शनिबार

अमेरिकामा यस वर्ष दादुराका ८८४ बिरामी भएको पुष्टि

blog

लस एन्जलस, वैशाख १३ गते । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन् ।

सिडिसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित सङ्क्रमणको रूपमा परिभाषित गरेको छ । अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सिडिसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ । दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ । रासस/एएनआई