• १३ वैशाख २०८२, शनिबार

दोलखामा दुई सडक कालोपत्रे हुँदै

blog

कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको सडक । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, वैशाख १३ गते ।
बागमती प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएका छन् । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने (मुडे मेलुङ शीतली सडकको भैँसे बुदचोक खण्ड) र तामाकोसी गाउँपालिका १ भिरकोट हुँदै बैत्यश्वर गाउँपालिका १ गैरिमुदी हुँदै तामाकोसी गाउँपालिका–३ छौडे पुग्ने (भिरकोट–झुले छौडे सडक) कालोपत्रे हुने भएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखामार्फत दुई मुख्य सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको छ । पूर्वाधार कार्यालयले १६ करोड १० लाख बजेटको टेन्डर आह्वान गरेको छ । सो बजेटले उच्च प्रविधिको कालोपत्रे गरिने कार्यालयले जनाएको छ ।

करिब ३ दशक पुरानो भिरकोट झुले छौडे सडक कालोपत्रे नहुँदा यातायात सञ्चालन गर्न असहज भएको थियो । सो सडक कालोपत्रे सम्म्पन्न भएपछि तामाकोसी बैत्यश्वर र जिरिका स्थानीयहरूलाई आवतजावत गर्न सहज हुने भएको हो ।

सो सडकको ठेक्का आह्वान भएपछि सडक कालोपत्रे हुनेमा आशावादी रहेको तामाकोसी गाउँपालिका–१ भिरकोटमा रहेको नारायणी माध्यमिक विद्यालयका शिक्षक सन्तोष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडक निर्माण नहुँदा सार्वजनिक यातायात समेत वैकल्पिक मार्गबाट चल्न थालेपछि स्थानीयहरूले सास्ती बेहोर्नु परेको थियो । अब गाउँमा उत्पादन गरिएका तरकारी तथा फलफूल बजार पुर्‍याउन सहज हुनेमा आशावादी छौँ ।’’ प्रदेश सरकारकै लगानीमा सोहि सडकको कालीदहबाट १ किलोमिटर सडक ढलान कार्य धमाधम भइरहेको छ ।

कार्यालयले मुडे मेलुङ सडकको भैँसे बुद्वचोक खण्ड कालोपत्रेका लागि १६ करोड १० लाख बजेटको टेन्डर आह्वान गरेको छ । सो बजेटले उच्च प्रविधिको कालोपत्रे गरिने कार्यालयले जनाएको छ । सडकको पहिलो खण्ड मुडे–बाघखोर–कालापानी नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताउनुभयो ।

दोलखाको मुख्य पर्यटकीय स्थल शैलुङ प्रवेश गर्ने सो सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक–मुडे हुँदै शैलुङ आवतजावत गर्न सहज हुने भएको छ । सडक कालोपत्रे भएपछि शैलुङ गाउँपालिकामा उत्पादन गरिएको तरकारी, फलफूल सहजै बजार पुर्‍याउन सकिने भएसँगै किसान खुसी भएका छन् । कार्यालयले जिरी चेर्दुङ सडक स्तोरोन्नतिका लागि पनि पाँच करोड बजेटको टेन्डर आह्वान गरेको छ ।

दुई सडक कालोपत्रे, एक दर्जन सडक निर्माणाधीन

प्रदेश सरकारको लगानीमा दोलखामा दुई वटा सडक कालोपत्रे सम्पन्न भएको छ । भौगोलिक रूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सुनखानी–साङ्बा १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । सो सडक कालोपत्रे गरिएसँगै कालिञ्चोक गाउँपालिका र बिगु गाउँपालिकाबिच आवागमन सहज भएको छ  । त्यसैगरी प्रदेश सरकारकै लगानीमा चरीकोट–देउराली करिब पाँच किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ  । सो सडक कालोपत्रे भएपछि धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको हो । सोही सडक हुँदै देउरालीदेखि कालिञ्चोक पुग्ने बाँकी सडक खण्डको समेत निर्माण धमाधम भइरहेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत दोलखाका करिब एक दर्जन ठुला सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको कार्यालयले जनाएको छ ।

दोलखाको बैत्यश्वर गाउँपालिका हुँदै गौरीशंकर गाउँपालिका जोड्ने मुख्य सडक सिद्धाको थान–जुँगु–झ्याँकु सडकमा स्तरोन्नति भइरहेको छ । लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ भने सोही सडकखण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ ।

चालु आवमा नै दोलखामा कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटक पटक ताकिता गरेर निर्माण सुरु गराएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा ग्रामीण क्षेत्रका सडकहरू स्तरोन्नति र ढलान कार्य धमाधम भइरहेको छ ।” कार्यालय जिल्लामा नै स्थापना भएपछि दोलखामा सडक क्षेत्रको विकासले प्राथमिकता पाएको छ । कार्यालयको सक्रियता बढेसँगै लामो समय सडक  निर्माण अलपत्र छोडेर बसेका निर्माण व्यवसायीहरू सडक निर्माणमा फर्किएका छन ।

पटकपटक म्याद थप्दा पनि निर्माण सम्पन्न नगर्ने व्यवसायी र फर्मलाई कालो सूचीमा राख्ने तथा कारबाहीको प्रक्रिया अगाडि बढाउने योजना रहेको कार्यालय प्रमुख ओझाले बताउनुभयो । प्रदेश सरकारको लगानीमा सिँगटी–लादुक–बुलुङ सडक निर्माण भइरहेको छ  । त्यसैगरी प्रदेश सरकारकै लगानीमा दुई वटा पुल निर्माण सम्पन्न र बाँकी तीन वटा पुल निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर टङ्क तिवारीले बताउनुभयो ।

गौरीशङ्कर गाउँपालिकामा २५ मिटर लामो तिनेखु पुल र जिरी नगरपालिका–१ मा २५ मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । साथै जिल्लाका विभिन्न स्थानमा २५ मिटर लम्बाईका तीन वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सडकलाई पहिलो प्राथमिकता दिँदै अघि बढेको भन्दै सङ्घीयतापछि जिल्लाबाट गुमेको कार्यालय चालु आवमा नै स्थापना भएको र कार्यालय स्थापनासँगै विकास निर्माणको काममा सहजता भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञान जस्ता क्षेत्रको विकासका लागि प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गर्दै आएको मन्त्री काफ्लेले बताउनुभयो  ।

स्थानिय रोशनकुमार केसीले जिल्लाकै आर्थिक मामिला तथा योजना मन्त्री पाएकाले दोलखामा विकासका योजना आएको बताउनुभएको हो ।