धनगढी समाचारदाता
धनगढी, वैशाख १२ गते । प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन छ । गाउँभन्दा केही पर प्रकृतिको काखमै पुगेर यो पूजा गर्ने चलनलाई बर्का भजहर वा चिरै भजहर भन्ने गरिएको छ । खेतीपातीको कामबाट फुर्सद भएपछि गर्मी मौसममा रुखको छहारीमुनि रमाइलो गर्दै कैलालीलगायत विभिन्न जिल्लामा थारू समुदायका मानिस भजहर पूजामा रमाइरहेका छन् । यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबच्चा सुखीखुसी रहून्, गोरु, गाई, भैँसी र राँगालाई रोगव्याधिले नसमातोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको छ ।
गाउँघरमा रहेका बालबालिकादेखि घरपालुवा पशुलाई रोगव्याधिबाट जोगाउनका लागि यो पूजा गर्ने गरिएको धनगढी उपमहानगरपालिका–१६ का गुरुवा मङ्गरु चौधरीले बताउनुभयो । “भजहर पूजा गर्नाले गाउँघरमा रोगव्याधिलगायत विभिन्न समस्या आउँदैन,” उहाँले भन्नुभयो ।
स्थानीयका अनुसार चिरै भजहर एक दिन र बर्का भजहर पूजा एक हप्तासम्मको हुने गरेको छ । भजहर पूजा अवधिभरि गाउँभरिको खाना घरभन्दाबाहिर भजहर पूजा स्थलमै पाक्ने गर्छ । गुरुवाले पूजा गरिसकेपछि खानपान गरेर महिला छुर, कबड्डी, कुइली डिडीलगायतका पौराणिक खेल खेलेर रमाउने चलन रहेको छ । यसै गरी कतैकतै बाटो छेकेर बटुवाबाट स्वैच्छिक दक्षिणा पनि लिने गरेको पाइन्छ । भजहर थारू समुदायको मौलिक र परम्परागत पूजा रहेको धनगढी उपमहानगरपालिका–१६ का पूर्ववडाध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो ।