• १० वैशाख २०८२, बुधबार

देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि...

blog

काठमाडौँ, वैशाख १० गते । शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दै गर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ । सेवासुविधा वृद्धि र वृत्तिविकाससँग सम्बन्धित विविध माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको यस आन्दोलनमा सहभागी शिक्षकहरूले २१ दिनदेखि विद्यालय तहको अध्ययन अध्यापन ठप्प पारेका छन् । 

झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को बोर्ड परीक्षासमेत हुन नदिने वा परीक्षाका कार्यक्रममा सहभागी नहुने चेतावनीले सबैलाई झस्क्याएको छ । स्कुल खुल्ने प्रतीक्षामा रहेका लाखौँ बालबालिका र उनीहरूका अभिभावक अहिले बिलखबन्दमा परेका छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुन नपाएका धेरै विद्यार्थी निजी आवासीय विद्यालय (बोर्डिङ)तर्फ आकर्षित हुन थालेका खबरहरू आइरहेका छन् । 

देशभरका विद्यालय ठप्प पारेर आफ्नो माग पूरा गराउन सरकारमाथि चर्को दबाब दिइरहेका शिक्षकहरूको यो आन्दोलन कहिले, कुन रूपमा टुङ्गिन्छ भन्ने कसैले अनुमान लगाउन सकेका छैनन् । प्रधानमन्त्री र सभामुखसँग समेत वार्ता गरिसके पनि कुनै ठोस निष्कर्षमा तत्कालै पुग्न सक्ने देखिएको छैन । प्रधानमन्त्रीले शिक्षकहरूका जायज मागहरू मात्र पूरा गर्नसक्ने बताउँदै शिक्षकहरूलाई आन्दोलन रोक्न, भर्ना अभियान थाल्न र परीक्षा कार्यक्रमहरूमा सघाउन आग्रह गरे पनि शिक्षक महासङ्घका पदाधिकारीहरूले सरकारको यो आह्वानलाई तत्काल स्वीकार गर्न राजी छैनन् । 

अर्थात् संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन र शिक्षक–कर्मचारीका माग सम्बोधन नहुँदासम्म उनीहरू मैदान नछाड्ने अडानमा छन् । यो अवस्थामा अझै कहिलेसम्म आन्दोलन चलिरहन्छ भन्ने अन्यौल बढेको छ । हाम्रो समाजले पेसामध्येको सबैभन्दा पवित्र पेसाका रूपमा शिक्षणलाई लिन्छ । शिक्षण पेसा अवलम्बन गर्दा आमरूपमा शिक्षकले विद्यार्थीलाई के पढाउने ? के सिकाउने ? कस्ता विद्यार्थी उत्पादन गर्ने ? भन्ने हेरिन्छ । चिकित्सक, इन्जिनियर, वकिल, पत्रकार, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सेना, कूटनीतिक व्यक्तित्व, व्यवसायी, उद्योगपति, सिकर्मी–डकर्मी, किसानलगायत सबै नागरिकसँग शिक्षकको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । 

शिशु कक्षादेखि प्राथमिक तथा निम्न माध्यमिक र माध्यमिकदेखि उच्च माध्यमिक तह, स्नातक, स्नातकोत्तर, एमफिल, पिएचडीसम्म लगभग सबैसँग शिक्षकको नाता सोझै जोडिएको हुन्छ भने अर्कोतिर शिक्षकको सम्बन्ध घर, परिवार, टोल तथा समाजसँग स्वाभाविक रूपमा रहेको हुन्छ । नेपालजस्तो भौगोलिक, सांस्कृतिक, भाषिकजस्ता अनेकन विविधता रहेको देशमा शिक्षकले अनेक भूमिका निर्वाह गर्नु परिरहेको हुन्छ, र उनीहरू समाजका पथप्रदर्शकका रूपमा अघिअघि हुनुपर्ने अवस्था छ ।

तर पछिल्ला घटनाक्रमहरूले नेपालमा शिक्षकहरूको त्यो महत्त्व र गरिमामा पछिल्ला वर्षहरूमा कमी आउन थालेको हो कि भन्ने शङ्का उत्पन्न हुँदै छ । शिक्षकहरूले अलिकति पनि सोचेनन् कि २१ दिनसम्म विद्यार्थी विद्यालय जान नपाएर घरमा टिकटक, फेसबुक, युट्युब चलाएर बसेका छन्, टेलिभिजन हेरेर बसेका छन् । उनीहरूको स्कुल भोलि लाग्छ कि पर्सी लाग्छ भनेर पर्खेर बसिरहेका छन्, कतिपयको त बानी नै बिग्रिसकेको हुनसक्छ अध्ययनतिर ।

खास गरी अधिकांश शिक्षक एवम् तिनका अगुवाहरू कुनै न कुनै राजनीतिक दलका भ्रातृ संस्थासँग आबद्ध हुनुहन्छ भन्ने समाचार आइरहेका छन् । विद्यार्थीलाई किताबी ज्ञान र जीवन पढाउन–सिकाउनभन्दा राजनीतिको आडमा बेलगाम व्यस्त रहने प्रवृत्ति मौलाएको छ । पढाइमा भन्दा अन्य कार्यहरूमा समय खेर फालेर कैयौँ शिक्षकहरू आफ्नो जिम्मेवारीबाट च्यूत हुनुभएको जगजाहेर छ । आफ्ना सन्तान तथा आफन्तलाई निजी तथा विदेशमा पढाउने, विदेश भ्रमणका लागि लालायित हुने, भ्रष्टाचारमा संलग्न हुने, यौन दूराचारलगायतमा शिक्षकहरू जोडिएको देखिनु अर्को विडम्बना हो । 

अहिले मुलुकमा शिक्षा र स्वास्थ्य लगभग पूर्णरूपमा व्यापारीकरणको दिशामा गएको छ । यस्तो अवस्थामा शिक्षामा समानता कसरी कायम हुन सक्ला ? देशको भविष्य के होला ? पछिल्ला वर्षहरूमा केही सरकारी विद्यालयहरूले राम्रो नतिजासहित नमुना कार्य पनि गरेका छन् । तर शिक्षकका पटकपटकका विरोध प्रदर्शन र आन्दोलनका कारण झाङ्गिएका विकृति र विसङ्गतिले अन्ततोगत्वा अधिकांश सरकारी विद्यालयप्रति घृणा फैलिएको छ भनेर शिक्षकहरू स्वयंले स्वीकार्नुको विकल्प छैन । यही कारण हो, सरकारीको तुलनामा निकै महँगो निजी स्कुलप्रति आकर्षण बढेको छ । 

यहाँ बिर्सन नहुने कुरा के छ भने कतिपय शिक्षकले निजी स्कुल नै खोलेका छन्, सञ्चालक छन् । उनीहरूलाई सरकारी स्कुल बन्द भएकामा कुनै पश्चाताप हुने कुरै भएन । नत्र, विद्यार्थी भर्ना र परीक्षाको समय पारेर गरिएका यस्ता प्रकारका आन्दोलनले आमरूपमा शैक्षिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ? हामीले बेलैमा विद्यालय शिक्षामा सुधार नगर्ने हो भने नेपाली विद्यार्थीहरू अध्ययनका लागि भारत, चीन र अन्य देशतिर जाने सम्भावना बढ्दैन र ?

अरूलाई नैतिकताको पाठ सिकाउने र समाजलाई सही बाटो देखाउन प्रयत्न गर्ने शिक्षकहरू वार्ता र संवादको बाटो छाडेर एकोहोरो सडक आन्दोलनमा हिँड्नु बिल्कुलै उपयुक्त होइन । इमानदार शिक्षकले बुझ्न ढिला भएन र ? शिक्षक महासङ्घले विद्यालय खोले रेकर्ड राखेर कारबाही गर्ने चेतावनी दिएको खबर पनि आइरहेको छ, र त्यही डरले पनि कतिपय विद्यालयका शिक्षकहरू जबर्जस्ती आन्दोलनमा सहभागी हुन बाध्य छन् ।

‘शिक्षकले राजनीतिक गर्नै हुन्न, उनीहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिनै हुन्न, शिक्षकहरूले आफू सरकारी विद्यालयमा अध्यापन गराउने हुँदा आफ्ना छोराछोरी तथा परिवारका सदस्यलाई अनिवार्य रूपमा सरकारी स्कुलमै पढाउनुपर्छ, शिक्षकहरूले व्यापार व्यवसायमा जोडिन मिल्दैन’ भन्ने खालका योजनाहरू तत्कालैअघि नसारे शिक्षकको इज्जत प्रतिष्ठा त माटोमा मिल्छ–मिल्छ, समाजलाई खबरदारी गर्ने मुख्य संवाहकप्रति समाजले प्रश्न उठाउँछ नै । प्रधानमन्त्रीले भन्ने तरिका नमिलेको हुन सक्छ तर शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल नआएको कुरा शतप्रतिशत सही हो । 

सडकमा शिक्षकहरूका नारा पनि उदेकलाग्दा छन् । ‘शिक्षकहरूले मन्त्री कसले बनायो ? हामीजस्ता शिक्षकले’ ‘मन्त्री कसले खुस्काउँछ ? हामीजस्ता शिक्षकले’ भन्ने प्रकारका राजनीतिक नारा दिएर भाइरल हुँदै शिक्षकको इज्जत प्रतिष्ठा समाप्त पार्ने बाटोमा गएको देखिन्छ । सडकमा उच्छृङ्खल नाच देखाएर समाजलाई हसाइँरहेका छन्, टिकटकमा भाइरल हुने कार्यहरू गरी समाजका जिम्मेवार पेसालाई एउटा राजनीति गर्ने तथा व्यापारीभन्दा पनि समाजको स्वार्थी मानिसमा परिणत गराउँदै छन् । 

शिक्षकले तत्काल आन्दोलन रोकेर, सरकारसँग यथाशस्य छिटो वार्ता गरेर तत्काल पठनपाठन प्रक्रियामा सहभागी हुनेलगायतका शैक्षिक गतिविधिमा सरिक भई पेसागत मर्यादा बचाउनेतर्फ आदरणीय गुरुवर्गको ध्यान जानु अहिलेको आवश्यकता हो । अहिलेका विषम परिस्थितिमा आफ्नो पेसागत व्यवसायमा पर्केपछि मात्र देशभरका सम्पूर्ण अभिभावक र विद्याथीले राहत पाउने विश्वास गर्न सकिन्छ । अनि गुरु वर्गको पनि इज्जत, प्रतिष्ठा बढ्छ । रासस