काठमाडौं, वैशाख ९ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताउनुभयो ।
उहाँका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उहाँले १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, दुई वटा प्रिन्टर र चार वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई यो आर्थिक वर्षमा हामीले १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, प्रिन्टर दुई वटा र चार वटा सिसिटिभी क्यामेरा पनि वितरण गरेका छौं । एकहप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भ्रमणको क्रममा केही स्कुल तथा शैक्षिक संस्थालाई वितरण गरेका थियौं । भने आज माननीय भौतिक मन्त्रीज्यूको उपस्थितिमा थप दुई वटा स्कुललाई वितरण गरेका छौं ।’’
झापाको दमकमा वितरण गरिएका शैक्षिक सामग्रीहरु विद्यालयमा पुगेर जडानको क्रममा रहेको उपसचिव आचार्यले बताउनुभयो । यस वर्ष शैक्षिक सहायता सामग्री वितरण गर्न ३० लाख बजेट विनियोजन गरिएको थियो ।