• ९ वैशाख २०८२, मङ्गलबार

सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

blog

गत वर्षको बर्खामा सदरमुकाम खलङ्गानजिक गएको पहिरो । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख ९ गते । गत वर्षको बर्खाले बिग्रेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नगरपालिका–४, खहरेखोला र सोही नगरपालिका–१३, बारेलानजिक गएको पहिरोले बिग्रेको सडक मर्मत नहुँदा यात्रुले सास्ती पाउने गरेका छन्  । 

पहिरो खसेको लामो समय बित्दासमेत राजमार्ग अन्तर्गतका सडक छिटोछरितो मर्मत गरी सवारीसाधन आउजाउलाई सहज बनाउन सरोकारवाला निकायले पहल नगरेका कारण समस्या आएको छ । गत वर्षको बर्खाको समयमा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध गरेपछि तत्काल पहिरो पन्छाएर सवारीसाधन आउजाउमा सहज बनाए पनि मर्मत नहुँदा जोखिममै सवारीसाधन चलाउनु परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माका अनुसार छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नगरपालिका–४ स्थित खहरेखोला र भेरी नगरपालिका–१३, बारेलाखोलानजिक गत वर्ष बर्खाले बिग्रेको सडक मर्मतका लागि १८ लाख रुपियाँ बजेटमा ठेक्का खोलेर काम सुरु गर्न थालिएको छ । उहाँले सडक मर्मतका लागि सडक डिभिजन कार्यालय चौरजहारीसँग महरजी कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सीले चैत २७ गते १८ लाख बजेटमा असार ३० गते सम्पन्न गर्ने गरी ठेक्का लिएको बताउनुभयो । 

पहिरोले सडकखण्ड बिग्रेपछि करिब आठ महिनापछि मर्मतको जिम्मा पाएका महरजी कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सीका सञ्चालक नरबहादुर विकले केही दिनमा काम सुरु गर्ने बताउनुभयो । सडक मर्मतमा सरोकारवाला निकायले बवास्ता गरेपछि जोखिम सडकमा सवारीसाधन सञ्चालन गरिएको छ । भेरी नगरपालिका–४, खहरेखोलानजिकको भिरबाट केही वर्षअघि ट्याक्टर दुर्घटना भएका थिए । जाजरकोट सदरमुकाम खलङ्गानजिकै खहरेखोलानजिकको भिरमा माथिबाट खसेको पहिरोले खडक जोखिम बनाएपछि सवारीसाधनका चालकले सावधानीपूर्वक चलाउने गरेका छन् । 

भेरीगङ्गा यातायात व्यवसायी समितिका सञ्चालक लोकेन्द्र चन्दका अनुसार सरोकारवाला निकायले लामो सयमसम्म सडक मर्मत नगरी बेवास्ता गरेपछि यात्रा गर्न कठिन भएको छ । करिब २० दिनमा मर्मत गरिसकिने सडक बर्सौं पर्खिनु परेपछि सवारीसाधनका चालकसहित यात्रु जोखिममा परेको उहाँले बताउनुभयो ।