नीराजन परियार
कैलाली, वैशाख ७ गते । राना थारुको बाक्लो बस्ती भएको कञ्चनपुरको लाल झाडी गाउँपालिका वा.न. १ मा पाँच करोडको लागतमा आकर्षक उद्यान पार्क निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बनेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण सुरु भएको थियो ।
उद्यानमा सौर्य बत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिएको छ । एकै पटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गाउँपालिको योजना भएपनी सो अनुसार बनेको छैन । राना थारुहरूको रीतिरिवाज, खानपान,जैविक विविधतासँगै समुदायको संस्कृतिलाई समेत ध्यान दिएर पार्क निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । उहाँले निर्माण सम्पन्न गर्न आवश्यक बजेट अभावका कारण सम्पन्न गर्न ढिलो भएको बताउनुभयो ।
गाउँपालिकाले पार्क समयमा निर्माण हुन नसक्नुको कारण बजेट अभाव भएको र डिपीआर अनुसार नबनेको बताएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार सरकारले अहिले समयमा सम्पन्न गर्न र योजना सहित अगाडी बढाउन थप ९२ लाख बजेट आएको बताउनुभयो । अहिले खुल्ला बोलपत्र आह्वान गरेको उहाँको भनाई छ ।
आकर्षक डीपीआर उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्राम स्थल, विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार लगाएको आकर्षक डीपीआर बनेपनी डीपीआर अनुसार बनेको पाइएको छैन । पार्क निर्माण भएर समयमा सञ्चालनमा आए घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यहाँसम्म पुर्याई गाउँपालिका र स्थानीयलाई आन्तरिक आम्दानी बढाउनसमेत सहयोग पुग्ने स्थानीयको भनाई छ ।
उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्रे सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने र राना थारुको कला संस्कृतिलाई झल्काउने होमस्टे समेत सञ्चालन गर्ने योजना रहेको छ । उद्यान झन्डै ४ बिगाहा क्षेत्रफलमा निर्माण भएको छ ।