• ७ वैशाख २०८२, आइतबार

एकीकृत विशेषज्ञ शिविरबाट लाभान्वित

blog

चङ्खेली गाउँपालिकाद्वारा आयोजना गरिएको स्वास्थ्य शिविर । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ७ गते । हुम्ला जिल्लामा जटिल रोगका बिरामीले सुविधासम्पन्न अस्पतालमा उपचार गराउनका लागि बाहिर जानु परेको छैन । चङ्खेली गाउँपालिकाले गाउँमै एकीकृत विशेषज्ञ शिविर सञ्चालन गरेपछि बिरामीलाई उपचारका लागि बाहिर जानु नपरेको हो । 

तल्लो पेट दुख्ने समस्याले थला पर्नुभएकी चङ्खेली गाउँपालिका–४ की जानकी शाहीलाई उपचारका लागि सुर्खेत लाने तयारी भइरहेको थियो । यसैबिच उक्त रोगसम्बन्धी विशेषज्ञ सेवासहितको एकीकृत शिविर गाउँपालिकाले सञ्चालन गर्ने जानकारी पाएपछि शाहीलाई उक्त शिविरमा पु¥याइयो । शाहीले विशेषज्ञ सेवासहितको एकीकृत शिविरका कारण आफ्नो राम्रो उपचार भएको बताउनुभयो । शिविरमा शाहीको निःशुल्क उपचार गरिएको थियो । 

आङ खस्ने रोगकी बिरामी सोही गाउँपालिका–२ की धौली विकको शिविरमै उपचार गरेर सन्चो भएको छ । उहाँले समस्या बल्झी रहने भएका कारण ऋण काढेर भए पनि सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने सोच बनाउनुभएको थियो । उहाँलाई गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शुरवीर शाहीले गाउँमै विशेषज्ञ सेवासहितको शिविर सञ्चालन हुने र त्यसैमा उपचार गर्न सुझाव दिएपछि विकले शिविरमै उपचार गराएर सन्चो हुनुभएको छ । शिविरबाट प्रत्यक्ष फाइदा लिएर स्वास्थ्य लाभ गर्नुभएका उहाँहरू मात्र नभएर अन्य ५० जना सबै रोगका बिरामी रहेको प्रमुख शाहीले बताउनुभयो । 

विशेषज्ञ चिकित्सकसहितको शिविर नभएको भए बिरामी थप उपचारका लागि जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । शिविरले गर्दा उपचार गर्न बाहिर जान नपरेको उहाँले बताउनुभयो । विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविरमा ११ प्रकारका सेवा प्रदान गर्दा एक हजार ३३५ जना विभिन्न रोगका बिरामी लाभान्वित भएका छन् । स्वास्थ्य परीक्षण गरिएका बिरामीमध्ये ३२ जनालाई जिल्लाबाहिर रेफर गरिएको शाहीले बताउनुभयो ।