वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, वैशाख ७ गते । घर तथा सार्वजानिक स्थलका भित्ता, पाटीपौवामा हातको कला भरेर समिम सिद्धिकी भित्तेलेखनमा स्थापित हुनुभएको छ । डिजिटल प्रविधिबाट तयार पारिएका लेखन र चित्रकलाको प्रयोग बढेसँगै हातमा कला भएकाहरू पलायन भइरहँदा भोव्रmाहा नरसिंह–२ का ४४ वर्षीय सिद्धिकी भने भित्तेचित्र लेखन कलालाई नै पेसा बनाएर आम्दानी गर्दै आउनुभएको छ ।
सानो हातेझोलामा पेन्सिल, स्केल, रङ, ब्रस बोकेर कार्यस्थलमा पुगेपछि समिमको दैनिकी सुरु हुन्छ । अर्डर अनुसारका लेख, चित्र, कल्पना गर्दै तिनमा रङ भरेर २७ वर्ष बिताइसक्नुभएको छ । १७ वर्षको उमेरदेखि नै भित्तेलेखन र चित्रकलाको काम गर्दै आउनुभएका सिद्धिकी यसै पेसाबाट आफ्नो परिवार पालिँदै आएको बताउनुहुन्छ । डिजिटल प्रविधि भित्रिएसँगै हाते चित्रकला हराउँदै गएको छ । घरदेखि पाटीपौवा, विद्यालय, कार्यालयलगायतका सार्वजनिक स्थलमा कोरिने भित्तेलेखन, चित्रकलाई डिजिटल फेलेक्स प्रिन्ट गर्ने प्रविधिले प्रतिस्थापन गरेसँगै पछिल्लो समय हस्तलेखनको माग पहिले जस्तो नभएको सिद्धिकीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले भित्ता, पर्खालका साथै विवाह, व्रतबन्धदेखि कार्यव्रmममा कपडाको ब्यानरमा लेख्ने माग बढी हुन्थ्यो । रातभरि पनि काममै व्यस्त हुन्थेँ । अहिले पनि काम त हुन्छ तर पहिलेको जस्तो भने हुँदैन ।”
पूर्वी नेपालदेखि राजधानी काठमाडौँसम्म आफ्नो कला भित्तामा पोखिसकेका उहाँको कला पूर्वी नेपालमा निकै लोकप्रिय छ । सामुदायिक विद्यालय र निजी विद्यालयका साना कक्षादेखि पर्खालसम्म उहाँका कला भरिने गरेका छन् । भित्तेलेखन कला हराउँदै गए पनि अझै यसको महìव रहेको लेखन कलामा लागेकाहरू बताउँछन् ।
उहाँले आफूसँगै अन्यलाई पनि यही सिप सिकाउँदै रोजगारी दिइरहनुभएको उहाँका सहयोगी शिवु घिमिरे बताउनुहुन्छ ।
कामलाई आफ्नो जिम्मेवारी ठानेर इमानदारीपूर्वक काम गर्ने उहाँको बानीले पनि यस पेसामा टिकाइरहन सहयोग पुगेको रामधुनीका पुष्पराज विष्ट बताउनुहुन्छ । सुन्दर चित्र र आकर्षक लेखन सिप भएकै कारण टाढा टाढाबाट पनि भित्तेलेखनका लागि उहाँलाई खोज्दै आउने गरेका छन् ।