• ६ वैशाख २०८२, शनिबार

विवाद समाधानका लागि मेलमिलाप पहिलो शर्त : मेलमिलाप परिषद् अध्यक्ष रेग्मी

blog

कार्यक्रममा धारणा राख्नुहुँदै मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मी । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, वैशाख ४ गते। मेलमिलाप परिषद अध्यक्ष कुमार रेग्मीले स्थानीय तह मातहतका न्यायिक समिति र मेलमिलापकर्ताको सक्रियताले समाजमा हुने अनेकन झमेलाको अन्त्य हुने बताउनु भएको छ।

मेलमिलाप परिषदको कार्यालयले बिहीबार पाँचथरको फिदिममा आयोजना गरेको न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता र सरोकारवालाको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

‘अदालती प्रक्रियाबाट मुद्दाको छिनोफानो गर्दा समयसँगै पैसा धेरै खर्च हुन्छ, अदालतले फैसला गर्दा एक पक्षको जित र एक पक्षको हार हुन्छ, त्यसैले मेलमिलापको विधि उत्तम हो, यस्मा कसैले जित्ने र कसैले हार्ने नभएर दुवै पक्षको जित हुन्छ’, रेग्मीले भन्नुभयो। 

अन्तर्क्रियामा जिल्लाका आठवटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र उजुरी प्रशासकले समितिमा कानुन अधिकृत नहुँदा काम गर्न कठिनाइ भइरहेको बताए।

‘एकातिर कानुन अधिकृत छैनन् भने अर्कातिर मेलमिलापकर्ता बन्नका लागि स्नातक तहको शैक्षिक योग्यता तोकिएको छ, गाउँमा स्नातक उतीर्ण स्वयम्सेवकको अभाव हुने गरेकाले योग्यता पुनरावलोकन गर्नु जरुरी देखिएको छ’, फिदिम नगरपालिका उजुरी प्रशासक सरस्वती सिवाकोटीले भन्नुभयो।

अन्तर्क्रियामा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश पिपुल न्यौपाने र पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केले न्यायिक सिमितिको प्रभावकारिता सन्दर्भमा तयार पारिएका कार्यपत्र प्रस्तुत गर्नुभयो।