चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ४ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
गाउँपालिकाले स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ खोप अभियान सञ्चालन गरेको थियो। अभियानमार्फत गाउँपालिकाका सबै सात वटै वडामा रहेका लक्षित अर्थात १६ देखि ५९ महिनाका ५४१ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
बिहीबार सिँवामा आयोजित कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पूर्णखोप सुनिश्चित घोषणा गर्नुभएको हो। गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नम्बर १ सावादिनमा ५६ जना, वडा २ खेजेनिममा १११ जना, वडा ३ लिङ्खिममा ९१ जना लक्षित बालबालिकालाई खोप लगाइएको छ।
यस्तै वडा ४ इखाबुमा १२१ जना, वडा ५ तापेथोकमा ८४, वडा ६ लेलेपमा ७६ र वडा ७ ओलाङ्चुङगोलामा दुई जना लक्षित बालबालिकालाई आवश्यक सबै खोपको मात्रा लगाइएको छ। यता गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न भूमिका खेल्ने स्वास्थ्य स्वयंसेविका सहितका जनशक्तिलाई सम्मानसमेत गरिएको स्वास्थ्य शाखाले जनाएको छ। यसअघि सिदिङ्वा, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरी सकिएको छ।