राजकुमार भट्टराई
खोटाङ, वैशाख ४ गते । साम्पाङ राईहरूको उद्गमस्थल खोटाङको बासपानीमा वैशाख १३ गते साम्पाङ राईहरूको केन्द्रीय सम्मेलन हुने भएको छ । साम्पाङ राईको उद्गमस्थल केपिलासगढी गाउँपालिका–३ बासपानीस्थित खोक्मामा राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
साम्पाङ राईहरूको राष्ट्रिय सम्मेलनसँगै खकलुङ वरिपरिको जग्गा हस्तान्तरण कार्यक्रम पनि रहेको किरात साम्पाङ राई जुम्लेखा नेपाल खोटाङका अध्यक्ष प्रताप राईले बताउनुभयो । खकलुङको जग्गा खरिद गरिसकिएको र उक्त दिन आधिकारिकरूपमा संस्थामालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
साम्पाङ राईहरूको बसोवास रहेको दुई वटा जिल्लाका किरात साम्पाङ राई जुम्लेखा नेपालका जिल्ला कमिटिसहित देशभरका साम्पाङहरूको वैशाख १३ गते उद्गमस्थल खोक्मामा उपस्थिति रहने बताइएको छ । सोही दिन बृहत् साकेला प्रदर्शनी पनि हुने छ ।
बासपानी खोक्मामा रहेको साम्पाङ राईको एतिहासिक उद्गमस्थल संरक्षण गर्न यस अघि देखिनै साम्पाङ राई समुदाय लागि परेका छन् ।
साम्पाङ राईको पुर्खा छिलुङमी लामलुमीका छोरा रेप्सुनाले पहिलोपल्ट पाइला टेकेको साम्फेलुङ (ढुङ्गा), साम्फेलुङ कुवा, खकलुङ (ढुङ्गा) लगायतका ऐतिहासिक सम्पदा संरक्षण भइरहेको छ ।
हालसम्म साम्फेलुङ (ढुङ्गा) र साम्फेलुङ कुवालाई घेराबारा गरी सकिएको छ । कुवालाई पक्की बनाइएको छ । यस्तै, खकलुङ चोकमा फलैँचा बनाइएको छ । खोक्मा चोकलाई खकलुङ चोक नामाकरण गरेर बोर्ड राखिएको छ । उक्त क्षेत्रको बृहत् संरक्षण र विकासका लागि डिपिआर पनि निर्माण भइसकेको अध्यक्ष राईको भनाइ छ ।