रामकृष्ण बोहरा
बागलुङ, वैशाख ४ गते । एकान्तमा लुकेर बसेर गाउँमा हिँड्दै गरेकी एक महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुवास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपियाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
घरदेखि कुश्मीसेरा बजारतर्फ जाने क्रममा दमेकको शिवपुरी जङ्गलमा पानी खान लाग्दा स्थानीय ३९ वर्षीय माया सापकोटाले बोकेको झोलासहित लुटेर फरार सोही ठाउँका सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पैसा चोरेर फरार सार्की बागलुङ पर्वतको सीमा नाकास्थित मालढुङ्गा प्रहरी चोकपोस्टमा पक्राउ पर्नुभएको हो । प्रहरीले अभियुक्त सार्कीलाई बुधबार सार्वजनिक गरेको हो ।
पीडितको जाहेरी दरखास्तको आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर चोरी कसुरमा मुद्दाको तयारी गरेको छ । वैशाख २ गते अपराह्न ४ः३० बजे सापकोटाको झोलासहित पैसा चोरेर फरार हुनुभएको थियो । हुलियाको आधारमा सापकोटाले दिएको जाहेरीको आधारमा प्रहरीले खोजी गरेपछि घटना भएको डेढ घण्टामै अभियुक्तलाई पक्राउ गरिएको यादवले बताउनुभयो ।