चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २ गते। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको हो।
गाउँपालिकाले विगतदेखि नै सुरु गरेको कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको हो। सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत मङ्गलबार वडा २ फूलबारीमा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङको उपस्थितिमा पोषण वितरण गरिएको वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो।
वडाध्यक्ष सेन्दाङका अनुसार वडाभित्रका सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। उपाध्यक्ष आङ्बुहाङ, वडाध्यक्ष सेन्दाङ लगायतले अण्डा, चना, मटरलगायत पोषण सामग्री वितरण गर्नुभएको हो। यस्तै मङ्गलबार नै वडा ३ हाङ्पाङमा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। हाङ्पाङमा गाउँपालिका अध्यक्ष दीपेन पोमु लगायतको उपस्थितिमा पोषण सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार बाँकी रहेका वडामा पनि क्रमशः वितरण गरिने छ। आठराई त्रिबेणी गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममै कार्यक्रम समावेश गरी सुत्केरीलाई पोषण सामग्री वितरण गर्दै आएको छ। आठराई त्रिवेणीमा पाँचवटा वडा रहेका छन्।