राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) वैशाख २ गते । स्याङजामा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै १४ लाख सहयोग गरेका छन् ।
स्याङजा परिवार किम्हे बुसान शाखाले जिल्लाका १६ विद्यालयलाई १ करोड ४० लाख वन अर्थात् नेपाली १३ लाख ५० हजार रुपिँया बराबरको आर्थिक सहयोग गरेको शाखा अध्यक्ष आशिष रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिएको ‘स्याङ्जा बुसान साङ्गीतिक धमाका’ मा सङ्कलन भएको रकम बचाएर विद्यालयहरूलाई सहयोग गरिएको अध्यक्ष रानाभाटको भनाइ छ । “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने नाराका साथ अभियान चलाइएको उहाँको भनाइ छ ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर नै अभियान चलाइएको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आथिक सहयोग प्राप्त गर्ने विद्यालयले आफ्नो शैक्षिक तथा विद्यालयको भौतिक स्थितिको सुधार गर्न सफल हुने छन् ।” रकमको सदुपयोगिताको आधारमा आगामी दिनमा पनि विद्यालयहरूलाई सहयोग गरिने उहाँको भनाइ छ ।
विद्यालयको आवश्यक्ताका आधारमा रकम सहयोग गरिएको शाखाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिनुभयो । आफूहरूले पठाएको रकम कसरी सदुपयोग भइरहेको छ भन्नेमा जानकारी लिने गरेको लामिछानेको भनाइ छ । रोजगारीकोे शिलशिलामा विदेशमा रहनु परे पनि आफ्नो जिम्मवारी पूरा गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
कुन विद्यालयललाई कति सहयोग ?
शाखाले अर्जुनचौपारी गाउँपालिका–१ को सरस्वती आधारभूत विद्यालय, अर्जुनचौपारी–४ को जनमावि,गल्याङ नगरपालिका–७ को राष्ट्रिय मावि, गल्याङ–९ को ज्ञानोदय मावि र फेदिखोलाको भद्रनारायण आधारभूत विद्यालयलाई समान एक लाख ३० हजारका दरले रकम सहयोग गरेको हो ।
यस्तै आँधीखोला गाउँपालिका–३ को राष्ट्रिय माविलाई एक लाख २० हजार, वालिङ–४ को जेठीकन्या मावि, वालिङ–५ का कालिका आधारभुत विद्यालय तथा कन्या आधारभूत विद्यालय,आधीखोला–१ को जनहित मावि र चापाकोटको राधा दामोदर ज्ञान ज्योति संस्कृत माविलाई ७० हजारका दरले प्रदा नगरिएको शाखाका संरक्षक सागर पोख्रेले जानकारी दिनुभयो ।
यसैगरी हरिनास–२ को महिमा मावि, बिरुवा–४ को भविष्य निर्माण मावि,पुतलीबजार नगरपालिका–११ को विश्व शान्ति आधारभूत विद्यालय र कालीगण्डकी–६ को बाल ज्योति आधारभूत विद्यालयलाई ५० हजारका दरले सहयोग प्रदान गरिएको छ । यस्तै चापाकोट–१ को भानुमाविलाई ३० हजार प्रदान गरिएको छ ।