गोकर्ण पौडेल
तुलसीपुर, वैशाख २ गते । सङ्घीय सरकारले ज्येष्ठ नागरिकको सम्मान स्वरूप मासिकरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । स्थानीय सरकारले ज्येष्ठ नागरिकका सम्मानका लागि तीर्थाटन, कपडा त कतै च्यावनप्रास र मह वितरण गर्नेगरेको छ ।
त्यसमध्ये तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रम मार्फत् गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकलाई कोशेलीबापत मह वितरण सुरु गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले ज्येष्ठ नागरिक भनेका समाजमा देउताजस्तै भएकाले उहाँहरूको सम्मानस्वरूप गाउँ–गाउँमै पुगेर सन्चो बिसन्चोसहित कोशेलीस्वरूप मह वितरण सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भनेका हाम्रा लागि देउताजस्तै हो, उहाँहरुका लागि सम्मान पनि होस् र स्वास्थ्यका लागि फाइदा पुगोस् भन्ने ध्येय राखेर मह वितरण सुरु गरेका हौँ । नगरप्रमुख खड्काका अनुसार पालिकाले अघिल्लो वर्षमा न्यानो कपडा वितरणका साथै गाउँ गाउँमा पुगेर मुटु, मधुमेह, आँखाको शिविर सञ्चालन गर्दैआएको थियो ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठका अनुसार यसवर्ष करिब पाँच सय ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रममार्फत् मह वितरण सुरु गरेको बताउनुभयो । श्रेष्ठका अनुसार स्थानीय मौरीपालन किसानलाई प्रोत्साहनका साथै विपन्न समुदायका ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर मह वितरण गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा–१९ स्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष नवराज पार्धेले स्थानीय सरकारले ज्येष्ठ नागरिकका अपेक्षासहित मेयर कोशेली कार्यक्रममार्फत् ज्येष्ठ नागरिकप्रतिको सम्मान व्यक्त भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई वडा–वडामा दिउँसोको समय मनोरञ्जनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा १७ का वडाध्यक्ष थलराज पुरीले पहिलो पटक वडाका विपन्न समुदायका २५ जना ज्येष्ठ नागरिकलाई मेयर कोशेली कार्यक्रम मार्फत प्राप्त भएको मह वितरण गरिएको बताउनुभयो ।
आयुर्वेद शास्त्रका अनुसार महले कफ र पित्तलाई सन्तुलनमा राख्दछ भने पाचन शक्तिको वृद्धि, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कफ नाशक, वजन नियन्त्रण, रक्त शुद्धीकरण गर्दछ । आयुर्वेद शास्त्रमा महलाई महाऔषधी भनिएको छ ।