फिदिम समाचारदाता
फिदिम,वैशाख, १ गते । पाँचथर जिल्ला अदालतले प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई न्यायको पहुँचमा जोड्न थालेको छ ।
यो अदालतले पछिल्लो समय भौतिक रूपमा टाढा रहेका सेवाग्राहीको सुविधालाई लक्ष्य गरी ‘भिडियो कन्फ्रेन्स’ मार्फत पक्षको बकपत्र, बयान र कानुन व्यवसायीको बहस गराउन थालेको हो । यो प्रव्रिmया थालेसँगै सेवाग्राहीको समय, खर्च र श्रमको बचत मात्र होइन, न्यायको पहुँच सहज बनाएको अदालतले जनाएको छ । अब भौतिक उपस्थितिबिना नै बयान, साक्षी बकपत्र तथा बहस पैरवी जस्ता संवेदनशील न्यायिक कार्य नियमित रूपमा ‘भर्चुअल’ माध्यमबाट सञ्चालन हुन थालेको अदालतले जनाएको छ ।
अदालतका सूचना अधिकारी गोपाल खनालले भन्नुभयो, “विशेषतः विदेशमा रहेका वा अदालतमा उपस्थित हुन नसक्ने मुद्दाका पक्ष, साक्षी तथा कानुन व्यवसायीका लागि यो अभ्यास निकै उपयोगी साबित भएको छ ।” उहाँले देशदेशान्तरमा रहेका वादी, प्रतिवादीसँग बयान, साक्षी बकपत्र तथा मेलमिलाप, छलफल जस्ता कार्य ‘भिडियो कन्फ्रेन्स’ मार्फत गरिँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समयमै बकपत्र र बयान लिएर मुद्दालाई चाँडै निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने विश्वास लिएका छौँ ।”
पछिल्लो समय अदालतले पोर्चुगल, दुबई र ओमनमा रहेका बहुविवाहपीडित तीन महिलाको साक्षी बकपत्र ‘भर्चुअल’ माध्यमबाट लिएको थियो । ती महिला वैदेशिक रोजगारीमा रहेका बेला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेपछि दायर मुद्दामा अदालतले ‘भिडियो कन्फ्रेन्स’ मार्फत साक्षी बयान लिएको थियो ।
त्यस्तै बाल सुधारगृह विराटनगरमा रहेका दुई बालक प्रतिवादीलाई ‘भर्चुअल’ रूपमा अदालतसँग जोडेर डाक्टरको साक्षी बकपत्रसमेत लिइएको सूचना प्रविधि प्रमुख प्रीतम खतिवडाले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दामा सरकारवादी रहेको केसमा दुई प्रत्यक्षदर्शीको बयान पनि यही माध्यमबाट लिइएको थियो । वरिष्ठ अधिवक्ता खगराज कट्टेलले इलामबाटै अंश चलनसम्बन्धी मुद्दामा ‘भर्चुअल’ बहस गर्नुभएको थियो । यसरी भौतिक रूपमा उपस्थित सबै सरोकारवालाले साक्षी, वादी, प्रतिवादी र कानुन व्यवसायीको भनाइ सुन्ने र हेर्ने सुविधा पाइरहेका छन् । खतिवडा भन्नुहुन्छ, “भर्चुअल माध्यममा सहभागी हुनुअघि सम्बन्धित व्यक्तिलाई प्रविधिको तालिम दिइन्छ । उहाँहरू तयार भएपछि मात्र बकपत्र, बहस, बयान वा आवश्यक कागजात सङ्कलन गरिन्छ ।”
हालसम्म जिल्ला अदालतमा यस्ता अभ्यास विरलै हुने गरेका छन् । गत असोजमा भने पाँचथरमा सरुवा भएर आउनुभएका न्यायाधीश कुमार मास्केको निर्देशन र पहलमा यसप्रकारको अभ्यास प्रारम्भ गरिएको हो । कोशी प्रदेशमा ‘भर्चुअल’ माध्यमबाट साक्षी बकपत्र, बयान र बहस पैरवीको नियमित अभ्यास सुरु गर्ने पाँचथर जिल्ला अदालत सम्भवतः पहिलो भएको अदालतले दाबी गरेको छ ।
सूचना प्रविधिको प्रयोगले न्यायिक प्रक्रिया सरल, छिटो र पहुँचयोग्य बनाउने पाँचथर जिल्ला अदालतको यो प्रयासले न्याय क्षेत्रमा प्रविधिको समुचित प्रयोग कसरी प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । सेवाग्राही यसबाट सन्तुष्ट छन् । न्याय पाउन समयमै पहुँच, प्रव्रिmयामा पारदर्शिता र सेवा सहजताको अनुभवले उनीहरू आशावादी छन् ।