• २ वैशाख २०८२, मङ्गलबार

सीमान्तको कुसुन्डा भाषा सिक्ने चाहना अधुरै

blog

दमौलीमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने क्रममा सीमान्त कुसुन्डा । तस्बिर: अमरराज

अमरराज नहर्की

तनहुँ, चैत ३१ गते । तनहुँमा एक मात्रै कुसुन्डा जातिकाे परिवार छ । त्यसै जातिकी दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने सीमान्त कुसुन्डाले आफ्नो कुसुन्डा भाषा सिक्न चाहनुभएको छ तर पाउनुभएको छैन ।

कुसुन्डा भाषा बोल्ने र फैलाउने रहर भए पनि अवसर नपाएको सीमान्तले गुनासो गर्नुभयो । सीमान्तले भन्नुभयो, ‘आमालाई राम्रोसँग बोल्न आउँदैन भाषा सिक्ने रहर छ तर पाएको छैन ।’ भाषा हराए पहिचान हराउने भएकोले सिक्न चाहेको सीमान्त बताउनुहुन्छ । ‘हाम्रो समुदाय थोरै छ भाषा लोप हुन लागेकोले सिक्न चाहेको हुँ तर अवसर पाएको छैन’ सीमान्तले भन्नुभयो । विभिन्न सांस्कृतिक कार्यक्रममा लोपोन्मुख जातिको सम्मान गर्न भन्दै प्रमुख अतिथि बनाउने गरेको स्मरण गर्दै सीमान्तले  कार्यक्रमको सम्बोधनमा आफ्नो भाषा बोलेर पहिचान दिन मन लागे पनि भाषा सिक्न नपाउँदा अधुरो रहेको बताउनुभयो ।

व्यास नगरपालिका–१०, डिही गाउँ बस्ने सीमान्तको आमा इन्द्रमाया कुसुन्डा थोरै मात्र कुसुन्डा भाषा जानेको बताउनुहुन्छ । आफ्नो भाषा लोप भएर जाने चिन्ता भएर श्रीमान् राजा मामाले केही भाषा सिकाउनुभएको तर तालिम नपाउँदा पूरा नजानेको बताउनुभयो । पति राजा मामाको निधन भएयता इन्द्रमायाले कुसुन्डा भाषा बोल्न पाउनुभएको छैन । कुसुन्डा भाषा पूरै बोल्न जान्ने राजा मामाको २०७५ साल वैशाख ५ गते निधन भएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको  निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले राजा मामालाई कुसुन्डा भाषाको पूरा ज्ञान भए पनि इन्द्रमायाले केही मात्र जान्नुभएको जानकारी दिनुभयो । राजा मामाले कुसुन्डा केटी नपाएपछि फरक जातिसँग विवाह गरेकाले एक पुस्ताबाट अर्को पुस्तामा भाषा स्थानान्तरण गर्न समस्या परेकाले कुसुन्डा भाषा लोप हुने अवस्थामा पुगेको घर्तीले बताउनुभयो ।

कुसुन्डा समुदायको आफ्ना मौलिक भाषा, संस्कृति, मूल्यमान्यता, रीतिथिति लोपोन्मुख अवस्थामा रहेकाले प्रवर्द्धनको पर्खाइमा रहेको घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो, “ सरकारले मातृभाषा र संस्कृतिको अनिवार्य अध्ययन गर्नुपर्ने नीति बनाउने हो भने कुसुन्डालगायतका अन्य भाषा र संस्कृतिको संरक्षण गर्न सकिन्छ, होइन भने गुगलमा मात्रै सीमित हुन्छ ।” विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, गैर जातीय विवाह प्रणाली लगायतले गर्दा भाषा र संस्कृति लोप हुँदै गएको घर्तीले बताउनुभयो । फिरन्ते कुसुन्डा जातिको जीवन पहिले जङ्गलमै बित्थ्यो । स्थायी घर र बसोबास नभए पनि उनीहरूका आफ्नै कला, संस्कृति र संस्कार थिए । वनमा बस्ने भएकोले वन राजा भनेर चिनिन्थे । जङ्गली जनावर सिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने कुसुन्डा आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएका छन्‌ । यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो ।

तनहुँमा एक घरपरिवार मात्रै कुसुन्डा छन्‌ । इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीन कोठे घर निर्माण गरिदिएको घरमा बस्दै आउनुभएको छ । कुसुन्डा जातिको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजा मामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुन्डाहरू स्याउलाका एक पाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रूपमा जङ्गलका विभिन्न ठाउँमा बसोबास गर्दथे । जङ्गली रूख बिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिज, गोहोरो, वन कुखुरा, मृग, स्याललगायतको सिकार गर्दथे ।

वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमूल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरू मर्ने जस्ता कारणले कुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुन्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको व्यास नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।