• १९ असार २०८२, बिहिबार

तनहुँमा राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने

blog

लाखेनाच । फाइल तस्बिर

अमरराज नहर्की
तनहुँ, असार १९ गते ।
लोप हुँदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले तनहुँमा विशाल लाखेनाच प्रतियोगिता हुने भएको छ । नेवा देय दबु गण्डकी प्रदेशको आयोजनामा आगामी भदौ १४ गते राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।

नेवारी समुदायको परम्परागत पहिचान बोकेको लाखे नाचलाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले भिमाद नगरपालिका–६ स्थित भिमाद रङ्गशालमा प्रतियोगिता गर्ने निर्णय गरिएको मुख्य समारोह संयोजक एवम् नेवा देय दबु गण्डकी प्रदेशका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सांस्कृतिक चेतना फैलाउने र युवापुस्तालाई आफ्नै मौलिकताको महत्त्व बुझाउने मुख्य उद्देश्यले प्रतियोगिता गर्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “संस्कृति भनेको हाम्रो पहिचान हो, हाम्रा पुर्खाले छोडेर गएको सम्पदा जोगाउनु हाम्रो जिम्मेवारी भएकोले ठुलो धनराशीको प्रतियोगिता गर्ने निर्णय गरेका हौं ।’’

श्रेष्ठका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार नगद एक लाख ११ हजार रुपियाँ दोस्रो पुरस्कार ६१ हजार, अन्य सात उत्कृष्ट टोलिलाई जनही दस हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।