कीर्तिपुर (काठमाडौँ), चैत ३० गते । पूर्वसचिव शङ्करप्रसाद पाण्डेको संस्मरणात्मक निबन्ध ‘सम्झनाका फूलहरू’ बजारमा आएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त पुस्तक विमोचन गर्नुभयो । पुस्तकमा लेखक पाण्डेले भौतिक विकास, पर्यावरण संरक्षण, मुलुकको कूटनीति, शिक्षा तथा प्रशासन सेवाका अनुभव समेट्नुभएको छ ।
नेपाली साहित्यमा अनुपम मानिएको ‘मुनामदन’का रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा राष्ट्रसेवकका रूपमा ल्हासामा रहँदा स्थापना गराउँदाको अनुभव पनि पुस्तकमा समेटिएको छ । पुस्तक विमोचनपछि पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तकका माध्यमबाट राज्यव्यवस्था र त्यससँग सम्बन्धित विषय सार्वजनिक गरेर लेखकले आम पाठकलाई गुन लगाएका बताउनुभयो ।
कवि प्रह्लाद पोखरेलले पुस्तक नयाँपुराना दुवै पुस्ताले पढ्नुपर्ने बताउनुभयो भने काठमाडौँ महानगरपालिका-१७ का वडाध्यक्ष रोजिना श्रेष्ठले पुस्तकका केही प्रसङ्ग हरेक नेपालीको जीवनसँग मिल्ने किसिमका भएकाले पुस्तक पठनीय भएको टिप्पणी गर्नुभयो । रासस