गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका प्राडा मोहनप्रसाद तिमल्सिनाको जीवनीमा आधारित ‘प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दी गाउँपालिकाले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उक्त ग्रन्थको लोकार्पण गरेको हो । तिमल्सिना सोही गाउँपालिकाका वडा नं. ४ काफलडाडाका स्थायी बासिन्दा हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष सेवा गर्नुभएका तिमल्सिनाले नेपाली भाषा, साहित्य तथा कला क्षेत्रको जगेर्ना गर्न पु¥याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाले प्रकाशन गरेको व्यक्तिगत जीवनीमा आधारित ग्रन्थ यो नै पहिलो हो ।
ग्रन्थ लोकार्पण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धादिङ्मा मात्रै नभएर मुलुकमै भाषा, साहित्य तथा शिक्षाको विकासमा तिमल्सिनाको योगदान अतुलनीय रहेको बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि यस्ता व्यक्तिको पहचिान गरी जीवनी तथा अन्य ग्रन्थ संग्रह गरेर प्रकाशन गरेर नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले तिमल्सिनाको जीवनीमा आधारित ग्रन्थ प्रकाशन गर्न पाउनु समग्र गाउँपालिकाकै लागि गौरवको विषय भएको बताउनुभयो । कार्यक्रममा उपस्थित अन्य साहित्यकार तथा शिक्षासेवीले तिमल्सिनाको वहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
ग्रन्थमा तिमल्सिनाको बाल्यकालदेखि हालसम्मको जीवन गाथा समेटिएको २४ वटा लेखहरु छापिएका छन् । ग्रन्थको सम्पादन डा. नवीनबन्धु पहाडी, डा. मुरारी अधिकारी र डा. मोहनबहादुर कडेलले गर्नुभएको हो ।