फडिन्द्र अधिकारी
लेखनाथ, चैत २९ गते । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा. ईन्द्रप्रसाद तिवारी नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
कास्कीको पोखरा महानगरको लेखनाथका प्राडा. तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुनुहन्छ । यसअघि कुलपति सिफारिस समितिले तीन जनाको नाम मुख्यमन्त्रीलाई सिफारिस गरेको थियो ।
विश्वविद्यालय न्यायिक परिषद अध्यक्षसमेत रहनुभएका छनोट समिति संयोजक प्राडा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद सदस्य डा. यमुना घले सदस्य रहेको समितिले चैत २१ गते मुख्यमन्त्री पाण्डेलाई तीन जनाको नाम सिफारिस गरेको थियो ।
तीन जनामा प्राडा. तिवारी, प्राडा. विश्वकल्याण पराजुली र प्राडा. सरोज कोइराला हुनुहुन्थ्याे । कुलपतिका लागि सात जनाले आवेदन दिएकोमा पाँच जनाको मात्र नाम स्वीकृत भएको थियो । गत फागुन ४ मा कुलपति प्राडा. गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो ।
गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेशिक विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी छ । नेपालमै पहिलोपटक यस विश्वविद्यालयमा न्यायिक परिषदको व्यवस्था गरी कुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको हो ।
यो विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटिएआई) पढाइ हुन्छ ।