• ६ वैशाख २०८२, शनिबार

समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल

blog

फोनिजको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल ।

लुम्बिनी, चैत २९ गते । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ । लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागीताको मूल आधार बन्नुपर्ने धारणा राख्नुभयो । 

समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक सञ्चार प्रणाली सुदृढ नहुने उहाँको भनाइ थियो । फोनिजको आठौँ महाधिवेशनअन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लम्सालले यस्तो धारणा राख्नुभएको हो । 

मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड दिनुभयो । ‘‘राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

“राजाको शासन टिकेन, सत्ताहरू टिकेनन्, जब पत्रकारको आवाज दबाउन खोजियो। त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैनन्,” उहाँले भन्नुभयो । 

उद्घाटन सत्रमा देशभरबाट आएका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको छ । फोनिजको आठौँ महाधिवेशनले नेपाली पत्रकारितामा नयाँ दिशा र ऊर्जा दिने अपेक्षा गरिएको छ।