काठमाडौं, चैत २९ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उहाँका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिइए आवश्यक अनुसन्धनका लागि काठमाडौं ल्याइँदै गरेको प्रवक्ता आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तीनकुनेमा पूर्व राजाको समर्थनमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटना लगत्तै प्रसाई फरार हुनुभएको थियो ।