• ३१ वैशाख २०८२, बुधबार

कुपोषणको उपचारमा सामाजिक प्रतिष्ठा बाधक

blog

धौलागिरि प्रादेशिक अस्पताल परिसरमा रहेको पोषण पुनःस्थापना केन्द्रमा उपचाररत बालबालिकाहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत २८ गते ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङको परिसरमा रहेको पोषण पुनःस्थापना केन्द्रमा पाँच जना बालबालिकाको कुपोषणको उपचार चलिरहेको छ । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये तीन जना मात्रै पोषण केन्द्रमा भर्ना भएर शय्यामा बस्छन् । अन्य दुई बालबालिकाको घर–केन्द्र आउजाउ गरेर उपचार भइरहेको छ ।

बागलुङ बजारकै सम्पन्न परिवारका ती दुई कुपोषित बालबालिकालाई पोषण पुनःस्थापनाको लागि केन्द्रमा भर्ना गरिए पनि शय्यामा बसेर उपचार गर्न परिवार तयार छैनन् । बच्चामा कुपोषणको समस्या रहेको घरछिमेकीले जानकारी पाउँछन् भन्ने त्रासका कारण ती दुई बालबालिकाको उपचार पोषण अधिकृतको सल्लाहमा घर र पुनःस्थापना केन्द्रमा हुन्छ । 

‘‘समयमा यहाँ आएर हामीले तयार गरेर खाना लिएर जानुहुन्छ भर्ना भएर बस्न मान्नुभएन्,’’ पोषण पुनःस्थापना केन्द्रका पोषण अधिकृत निशान्त आचार्यले भन्नुभयो ‘‘कुपोषण जस्तो समस्यामा पनि समुदायको त्रास, सामाजिक प्रतिष्ठा र जनचेतनाको कमिका कारण भर्ना भएर बालबालिकाको उपचार गर्न अभिभावक नै तयार हुँदैनन् ।’’

कुपोषण रोग नभई अवस्था हो भन्नेबारे सामान्य ज्ञान समेत नहुँदा कतिपय अभिभावकहरू काम गर्नुपर्ने बाध्यता रहेको दुखेसो पोख्दै पुनःस्थापना केन्द्रमा भर्ना भए पनि शय्या बसेर उपचार गर्न नमान्ने आचार्य बताउनुहुन्छ । ‘‘औषधी दिनुस् घरमै राखेर उपचार गर्छु भन्नुहुन्छ ।,’’ आचार्यले भन्नुभयो, ‘‘पुनःस्थापना केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खाना खुवाइन्छ त्यो घरमा संभव हुँदैन, भर्ना भएर बस्दा बालबालिका छिटो स्वस्थ हुन्छन् ।’’ 

कुपोषण आफैँमा रोग नभए पनि कुपोषणका कारण बालबालिकाहरू अन्य रोगको शिकार हुने गरेका छन् । चेतनाको अभाव र सामाजिक बहिस्करणका कारण अहिले पनि बालबालिकामा हुने कुपोषणको उपचारमा अभिभावकहरू नखुल्ने आचार्यको भनाइ छ । केन्द्रले निःशुल्क रूपमा बच्चा र अभिभावकलाई खाना खुवाएर कुपोषणको पुनःस्थापना गर्दै आएको छ । 

पोषण पुनःस्थापना केन्द्रले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४९ जना बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरेको छ । गत वर्ष ८६ जना अन्तिम अवस्थाको कुपोषित अर्थात् शिघ्र कुपोषित बालबालिकालाई भर्ना गरेर पुनःस्थापना गरिएको थियो । 

परिवारले समय नदिएकै कारण अधिकांश बालबालिकामा पोषणसम्बन्धी समस्या हुने गरेको पोषण अधिकृत आचार्यको अनुभव छ । ‘‘पोषणयुक्त खानाबारे अभिभावकले चासो नराख्दा बालबालिकामा कुपोषणको समस्या निम्तिएको हो’’ आचार्यले भन्नुभयो, ‘‘खानाको मात्रा मिलाएर खान नजान्दा पनि बालिबालिकाहरू कुपोषणको सिकार हुने गरेका छन् ।’’ खानाको तालिका बनाएर ध्यान दिनसके कुपोषणको समस्या नआउने उहाँ बताउनुहुन्छ । 

पछिल्लो समय पत्रु खानाका कारण ग्रामीण क्षेत्रमा भन्दा बजारीकरण भएका ठाउँमा कुपोषणको समस्या बढेको आचार्यले बताउनुभयो । ‘‘खान नपाएको, सुकेनास लागेको, ख्याउटेपन भएकोलाई कुपोषण भनेर बुझ्छौं । नानीबाबुहरूको उमेर र उचाईं अनुसार तौल नहुनु र उमेरभन्दा तौल बढी हुने मोटोपन पनि कुपोषण नै हो ।’’ आचार्यले भन्नुभयो ।

राज्यले ठुलो लगानी गरे पनि सामाजिक प्रतिष्ठा र चेतनास्तरको अभावमा धेरै कुपोषित बालबालिकाहरू उपचारको पहुँचबाट बाहिर छन् । आचार्यका अनुसार, नेपालमा अझै पनि ६० लाखभन्दा बढी बालबालिका कुपोषणबाट ग्रसित छन् ।