अमरराज नहर्की
तनहुँ, चैत २८ गते । स्वच्छ र स्वस्थ खाद्यान्न उपभोग गराई गण्डकी प्रदेशका जनतालाई निरोगी बनाउने उद्देश्यले स्थापना गरिएको कार्यालय आफैँ बिरामी परेको छ । गण्डकी प्रदेशको प्रवेशद्वारा आँबुखैरेनीको–३ आँबुखैरेनी बजारमा स्थापना गरिएको कृषि तथा पशुपक्षी नियमन एकाइ कार्यालय आफैँ बिरामी परेको हो । यस कार्यालयमा रहेका विषादी परीक्षण गर्ने उपकरण बिग्रिएका छन् भने जनशक्तिको अभाव छ ।
पाँच जना प्राविधिकको दरबन्दी रहेको यस कार्यालयमा एक जना प्राविधिक र कार्यालय सहयोगी मात्रै छन् । पूर्वाधार र जनशक्ति नहुँदा गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्थापना गरेको यो कार्यालय प्रयोगविहीन बनेको छ । उपकरण बिग्रिएको र जनशक्ति नहुँदा विषादी परीक्षण गर्न नसकिएको कार्यालयका निमित्त प्रमुख धनराज ओडले जानकारी दिनुभयो ।
ओडले भन्नुभयो, ‘‘पाँच जना प्राविधिको दरबन्दी छ म र कार्यालय सहयोगी गरेर दुई जना मात्रै छौं उपकरण पनि बिग्रिएकाले विषादीको मात्रा परीक्षण गर्न सकिएको छैन ।” प्रदेशमा भित्रिने पशु तथा कृषिजन्य उपजको स्वस्थता परीक्षण एवम् नियमनका लागि आर्थिक वर्ष २०७५/०७६ मा तनहुँको आँबुखैरनी र स्याङ्जाको मालुङ्गामा ती कार्यालय खुलेका थिए ।
मन्त्रालय मातहत रहने गरी स्थापना भएका एकाइ कार्यालयले छ वर्ष बितिसक्दा पनि तोकिएका सेवा दिन सकेका छैनन् । पशु तथा कृषि उत्पादनको स्वस्थता परीक्षण एवम् नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेक पोस्ट स्थापना गर्नुपर्ने आवाज उठिरहेका बेला प्रदेश सरकारको पहलमा स्थापना भएका नियमन एकाइ पनि सञ्चालनमा आउन नसकेका हुन् ।
कार्यालय खुले पनि त्यहाँ चाहिने दक्ष जनशक्ति, उपकरणलगायतको व्यवस्थापन हुन नसकेकाले कार्यालय नाम मात्रका जस्तै भएको छ । एकाइ कार्यालय सञ्चालनका लागि पशु विकास र कृषि विकास अधिकृतसहित पाँच जनाको प्राविधिक चाहिनेमा अहिलेलाई न्यून जनशक्ति र उपकरण नहुँदा उद्देश्य अनुसारको काम हुन सकेको छैन । विषादी परीक्षण नहुँदा आयात र निर्यातको तथ्याङ्क सङ्कलन गर्न लगाइएको निमित्त प्रमुख ओड बताउनुहुन्छ ।
कार्यालयका अनुसार नियमन कार्यालयमा पशुपक्षी तथा कृषि उपज होल्ड गर्ने स्थल, प्रयोगशाला, उपकरणलगायत कार्यालयलाई आवश्यक पर्ने प्राविधिक सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा सो हुन सकेको छैन । गुणस्तर परीक्षण र नियमन नहुँदा अहिले पशुपक्षी तथा बोटबिरुवा के–कस्तो अवस्थामा प्रदेशमा भित्रिरहेका छन्, कुनै लेखा–जोखा छैन । क्वारेन्टाइन प्रक्रिया पूरा गरेर मात्र पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री प्रदेश भित्र्याउने उद्देश्य पूरा भएको छैन ।
तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने योजना अलपत्र परेको छ । आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालय अगाडि भाडाको घरमा सञ्चालित प्रयोगशालामा गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण हुन सकेको छैन । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइने भनिएकोमा सो हुन सकेको छैन । आफू छ महिना अघि आउँदा उपकरण बिग्रिएको अवस्थामा रहेको र अझै पनि नबनेको ओडले जानकारी दिनुभयो ।