• ५ वैशाख २०८२, शुक्रबार

नक्कली सवारी चालक अनुमति पत्र वितरण गर्ने चार जना पक्राउ

blog

काठमाडौँ, चैत २७ गते। बाँकेको यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ठाकुरसहित सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोरखाथोकी पक्राउ परेका छन्। 

नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेर मासिक तीन करोडभन्दा बढी रकम सङ्कलन गर्ने गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई बुधबार बाँकेका विभिन्न स्थानबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यसैगरी, सुर्खेतको उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्कबहादुर रानालाई राजस्व रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको छ। 

आयोगका अनुसार समितिको कार्यालयले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको सुर्खेतको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

रानालाई पनि नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।