काठमाडौँ, चैत २७ गते। नेपाल यु–१९ क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ क्रिकेट टिमलाई १९२ रनको चुनौती दिएको छ। तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको हो।
मुलपानी क्रिकेट मैदानमा नेपालका लागि साहिल पटेलले ४६, निरजकुमार यादव ४२, रोशन विश्वकर्मा २८, कप्तान नरेन भट्ट २२ र दर्स सुनुवारले १० रन बनाउनुभयो। पछिल्लोक्रममा ब्याटिङ गरेका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
अफगानिस्तानका हाफिज जद्रानले चार विकेट हात पार्नुभयो भने अब्दुल अजिज र जइतुल्लाह साहिलले समान दुईदुई विकेट हात पार्दा रुहुल्लाह अरब र मेहेबुब खानले एकएक विकेट हात पर्नुभयो। ४४.५ ओभरमा अलआउट हुँदै नेपालले १९१ रन बनाएको हो।
अहिले अफगानिस्तानले ब्याटिङ गरिरहेको छ। नेपालले सुरुको दुई ओभरमा दुई विकेट लिइसकेको छ। नेपालका विपिन शर्मा र दयानन्द मण्डलले एकएक विकेट हात पार्नुभएको छ।
यसअघिको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रन हराएको थियो। लगातार दुई खेल हारेको नेपाल आज सान्त्वना जितेको खोजीमा छ।