• ४ वैशाख २०८२, बिहिबार

म्याराथन र खेलाडीका लागि दुई करोडको अक्षयकोष

blog

पत्रकार सम्मेलनमा नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष दिलबहादुर गुरुङ । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २६ गते । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि दुई करोड रुपियाँको अक्षयकोष बनाउन सुरु गरेको छ ।

अक्षयकोष अभियानमा अहिलेसम्म ३१ लाख ५४ हजार दुई सय ५६ रुपियाँ जम्मा भइसकेको छ । मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले चाँडै लक्षित रकम जम्मा हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मञ्चका पदाधिकारी र आजीवन सदस्यलाई केन्द्रीत गरेर यो वर्ष ५० प्रतिशत रकम उठाउने लक्ष्य छ ।” 

अक्षयकोषमा मञ्चका आजीवन सदस्य तथा डायमन्ड बुद्विष्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरूङले सात लाख ६१ हजार पाँच रुपियाँ प्रदान गर्नुभएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष गुरुङले १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ बाट १२ लाख २९ हजार ५सय ११ रुपियाँ बचत भएको जानकारी दिनुभयो । मञ्चले गत फागुन ३ गते गरेको म्याराथनबाट ९३ लाख ७० हजार ६सय ८९ रुपियाँ आम्दानी गरेको थियो । 

म्याराथनका लागि ८१ लाख ४१ हजार एक सय ७७ रुपियाँ खर्च भएको कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिनुभयो । मञ्च स्थापनाको रगत वर्ष प्रवेश गरेसँगै नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष महोत्सव विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ । 

मञ्चका अध्यक्ष गुरूङले रजत वर्षको सन्दर्भमा नेपाली खेलकुदमा विशेष योगदान पुर्‍याएका खेलकर्मीलाई एक लाखसहित सम्मान गरिने उल्लेख गर्नुभयो । मञ्चका अध्यक्ष गुरूङको संयोजकत्वमा तीन सय ५१ सदस्यीय रजत वर्ष मुल आयोजक समिति गठन गरिएको छ ।

मञ्चले २०८२ फागुन २ गते आयोजना गर्ने २०औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि खेलाडी दर्ता प्रक्रियासमेत सुरू गरिसकेको छ । १९औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरियुयिटले जित्नुभएको थियो ।