• ४ वैशाख २०८२, बिहिबार

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ता भएकाको उद्धारमा कठिनाइ

blog

खोजी तथा उद्धारका लागि अन्नपूर्ण हिमालमा पुगेका उद्धारकर्ताहरु । तस्बिर : इन्द्रशिंह शेरचन

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत २६ गते । अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा सोमबार बेपत्ता भएका दुई जना शेर्पाको उद्धारमा कठिनाइ भएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहानदेखि बेपत्ता हुनुहुन्छ । उहाँहरु सेभेन समिट ट्रेकबाट आरोहीको सहयोगीका रूपमा हिमालमा जानुभएको थियो । 

हिँउपहिरोमा हराइरहेकाको सोमबार बिहान र मङ्गलबार दिउँसो हेलिकोप्टरबाट खोजी र उद्धार कार्य भएपनि फेला पार्न नसकिएको अन्नपूर्ण गाउँपालिका ३ दानाका स्थानीय पर्यटनकर्मी तथा उद्धारकर्मी इन्द्रशिंह शेरचनले बताउनुभयो । मौसम अत्यन्तै खराब भएकाले उद्धारमा समस्या भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, "मङ्गलबार दिउसो कैलाश र प्रभुको हेलिकोप्टरबाट सेभेन समिटका शेर्पा सहितको टोलीले खोजी गर्‍याैँ तर हराइरहेकाहरूलाई फेला पार्न सकिएन । क्याम्प २ र ३ को बीचमा निरन्तर रूपमा ठुलो हिउँपहिरो खसिरहेको छ । ड्रोन क्यामेराको सहयोगले पनि खोजी गरेका थियौं । आज त्यहाँको मौसम अत्यन्तै खराब भएकाले हामी फर्कियौं ।"

 आरोहणका लागि क्याम्प ३ मा पुगेका ४ जना आरोहीहरूलाई हेलिकोप्टरको सहयोगबाट आधार शिविर झारेको उहाँले बताउनुभयो । हिँउपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका भर्‍याङहरू भत्किएको उहाँले बताउनुभयो । 

"सोमबार बिहान सम्म मौसम राम्रो थियो, बिहान एकैपटक ३२ जनाले हिमाल आरोहण गर्न सफल पनि भए । तर पछि एकाएक मौसममा खराब भयो । चुचुरोमा पुगेका आरोहीहरू सुरक्षित रूपमा आधार शिविर आइपुग्नुभएको छ," उद्धारमा  खटिनुभएका पर्यटनकर्मी शेरचनले भन्नुभयो । मौसम सफा भए बुधबार फेरि खोजी कार्यमा जुट्ने उहाँले बताउनुभयो ।