• ४ वैशाख २०८२, बिहिबार

मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेट

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । फाइल तस्बिर ।

विराटनगर, चैत २६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा. डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ ।

भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षिय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । स्वीजरल्यान्डका राजदूत डा. म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्यक्त गर्नुभयो । नेपालसँगको दौत्य सम्बन्ध लामो रहेको चर्चा गर्दै उहाँले सङ्घीयतापछि पहिलो पटक कोशी प्रदेश सरकारसँग सहकार्य गरेर आगाडि बढ्न पाएकामा खुसी पनि व्यक्त गर्नुभयो । 

राजदूत म्याउलीले  शासकीय सुधार, सुशासन प्रवर्धन र प्रविधिमैत्री कोशी प्रदेश निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको नेतृत्वसँग काम गर्न सहजता भएको उल्लेख गर्नुभयो । प्रदेश सरकारको लक्ष्य र उद्देश्य एवं प्राथमिकताप्रति उहाँले प्रशंसा गर्नुभयो ।

सो अवसरमा राजदूत म्याउलीले निजी क्षेत्रको सहकार्य वृद्धि, व्यावसायिक सीपको प्रवर्धन र पर्यटनको विभित्र योजनामा सहयोग गर्ने वचन दिनुभयो । भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशले आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा काम गरिरहेको चर्चा गर्दै स्वीस सरकारले पदमार्ग, आर्थिक समृद्धि सुशासन, शासकीय सुधारमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री कार्कीले राजस्व वृद्धि गर्ने गरी काम गर्न सुरु गरिएको र यसले प्रदेशको विकासमा स्रोत जुटाउनका लागि सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले गरेको सुशासनका कार्यसँगै विकास निर्माण र पर्यटन क्षेत्रमा सहयोग गर्न स्वीस राजदूतलाई आग्रह गर्नुभयो । रासस