ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल पुनहिलमा विद्युत् सेवा विस्तार भएपछि यहाँ पुग्ने पर्यटकलाई सहज भएको छ । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले पुनहिलमा हालै मात्र विद्युत् सेवा विस्तार गरेको हो ।
तीन हजार दुई सय मिटर उचाईमा रहेको पुनहिलमा यस अघि विद्युत् सेवा पुगेको थिएन । विद्युत् सेवा पुगेपछि पदमार्गलाई उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मुलबाट पानी तान्न सहज भएको छ ।
घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सेवा विस्तार गरिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिनुभयो। एक वर्षअघि २५ लाख रुपियाँ खर्चेर विद्युतीयको लाइन पुर्याए पनि गाउँपालिकाले हालै मिटरबक्स जडान गरेपछि पुनहिलमा विद्युत् वितरण थालिएको उहाँले बताउनुभयो ।
घोडेपानी क्षेत्रको विद्युत् आपूर्तिलाई सहज र गुणस्तरीय बनाउन नाङ्गो तार हटाएर एबिसी केबुल र ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको केन्द्रका प्राविधिक प्रमुख प्रकाश झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘कम भोल्टेजको ट्रान्सफर्मरका कारण घोडेपानी क्षेत्रमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको थियो । अहिले नयाँ ट्रान्सफर्मर जडान गरेपछि यो समस्या हटेको छ ।’’
पुनहिलमा विद्युत् सुविधा भएपछि पदमार्गमा सडक बत्ती जडान गर्न र पुनहिलमा लिफ्ट प्रविधिबाट पानी तानेर लैजाने तयारी गरेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताउनुभयो । विद्युत् सेवा पुगेपछि पुनहिलको भ्रमणमा जाने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजाले बताउनुभयो ।
पुनहिलबाट धौलागिरि,अन्नपूर्ण,निलगिरि,मानापाथी, चुरेन, पुथा, वराह शिखर, माछापुच्छ्रे र मनास्लु लगायतका एक दर्जन भन्दा बढी हिमालहरू अवलोकन गर्न सकिन्छ । पुनहिलमा वार्षिक रूपमा ३० देखि ४० हजारको हाराहारीमा पर्यटकहरू पुग्ने गर्दछन् । घोडेपानीबाट करिब एक घण्टाको पैदल यात्रा पछि पुनहिल पुग्न सकिन्छ ।
पुनहिल भ्रमणका लागि नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले १५० रुपियाँका दरले प्रवेश शुल्क गाउँपालिकाले निर्धारण गरेको छ । चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालिकाले ४० लाख रुपियाँमा ठेक्का लगाएको छ ।