सुरेश धामी
बझाङ, चैत २६ गते । शिक्षामा सुधार ल्याउने भन्दै गत वैशाखमा बुंगल नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरू समायोजन गर्यो । कतिपय विद्यालय गाभिए, कतिपयको तह घटाइयो, तर नगरपालिकाले विद्यालय समायोजनको एक वर्ष पुग्नै लाग्दा पनि शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरू शिक्षक अभावमै वर्ष टुङ्ग्याउन बाध्य भए ।
गत वैशाख ३० गते कार्यपालिका बैठकले १३ वटा विद्यालय समायोजन गर्ने र ११ वटा विद्यालयको तह घटाउने निर्णय गरेको थियो । निर्णयसहित तत्काल दरबन्दी मिलाउने भनिए पनि, दोस्रो शैक्षिकसत्र सुरु हुने बेलासम्म पनि त्यो प्रक्रिया अधुरै छ ।
शिक्षक दरबन्दी मिलान नहुँदा विद्यालयमा आवस्यकता अनुसार शिक्षक छैनन् । विद्यार्थी सङ्ख्या, विषय र कक्षातहको आधारमा शिक्षक हुनुपर्नेमा कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा बढी र कुनै विद्यालयमा शिक्षक सङ्ख्या आवश्यकताभन्दा कम हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको सत्य माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा सुधारको सुरुवात शिक्षक व्यवस्थापनबाट हुन्छ । शिक्षक नभएका कक्षामा सुधार कसरी सम्भव हुन्छ र ? कतै भीड, कतै खाली वास्तविकता त्यति नै हो ।”
शिक्षक व्यवस्थापन अभावको असर स्पष्ट छ । कुनै विद्यालयमा आवश्यकताभन्दा बढी शिक्षक छन्, त केहीमा एक जनाले सयौं विद्यार्थी सम्हाल्नुपरेको छ । “एक सय ५० विद्यार्थी भएको विद्यालयमा एक जना मात्र शिक्षक छन् भने ७–८ विद्यार्थी भएका विद्यालयमा चार शिक्षक छन् ।” यसले विद्यार्थीको पठनपाठन मात्र होइन, शिक्षकहरूको मनोबल र व्यवस्थापनमा पनि गम्भीर असर परेको महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर रानाको भनाइ छ ।
यसैगरी, चन्द्र मावि गिंरौका प्रधानाध्यापक शिवराज अवस्थीले पनि विद्यालयहरूलाई निजी शिक्षक पाल्न मुस्किल परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले दरबन्दी मिलानका लागि बारम्बार आवाज उठायौं, तर नगरपालिले सुनुवाइ गरिरहेको छैन ।” शिक्षक अभावकै कारण विद्यार्थीहरू नियमित पठनपाठनबाट बञ्चित भएका छन् । यही अवस्था आउँदै गरेको नयाँ शैक्षिक सत्रमा पनि दोहोरिने हो कि भन्ने चिन्ता अभिभावक र शिक्षकहरूमा गहिरिँदै गएको छ ।
बुङ्गल नगरपालिकाका नगरप्रमुख तथा शिक्षा समिति संयोजक जयबहादुर धामीले भन्नुभयो, “हामीले शिक्षक दरबन्दी मिलानका लागि निर्णय गरेका थियौं, तर केही विवादका कारण कार्यान्वयनमा ढिलाइ भयो । अब केही हप्ताभित्र छलफल गरी लागू गर्छौं ।”
प्राथमिक तहको दरबन्दी मिलान अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख देवराज जोशीले बताउनुभयो । “बर्षेनि करिब तीन करोड रुपियाँ निजी शिक्षक तलबमा खर्च हुँदै आएको छ । दरबन्दी मिलानले बजेट व्ययभार कम गर्नुका साथै विद्यालयमा स्थायित्व ल्याउँछ ।” उहाँले भन्नुभयो ।
शिक्षामा सुधारको नारा दिनु सजिलो हो, तर व्यवहारमा उतार्न योजना, इच्छाशक्ति र कार्यान्वयन क्षमता चाहिन्छ । बुंगल नगरपालिकाले नीति बनायो, तर समयमै शिक्षक व्यवस्थापन नगर्दा सुधारको सपना झन् टाढिँदै गएको छ । दोस्रो शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि दरबन्दी मिलान गर्न नसक्दा विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै नगरपालिकाको व्ययभार बढी हुने, विद्यालयलाई निजी शिक्षक पाल्न गाह्रो हुने लगायतका समस्याहरु देखिएका छन् । यसले गर्दा पनि नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधार हुन सकिरहेको अवस्था छैन । विद्यार्थीले शिक्षक अभावमै वर्ष सके पनि दोस्रो शैक्षिकसत्रमा पनि त्यस्तै हुन्छ कि भन्ने अन्योल शिक्षक विद्यार्थीमा छ ।