खलङ्गा समाचारदाता
जाजरकोट, चैत २६ गते । शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक आउने गरेको हो । सरकारले समयमै विद्यालय सञ्चालन गर्न बालबालिकाको पढाइमा सुधार गर्न शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पठाएको हो ।
विगत वर्ष शैक्षिक सत्र सुरु भएको दुई महिनापछि पाउने पाठ्यपुस्तक यतिबेला विद्यालयमा भर्नासँगै किताब पाउने भएका छन् । दुर्गम गाउँबस्तीका विद्यालयमा समयमा पाठ्यपुस्तक आएको छैन भन्ने गुनासोको अन्त्य भएको छ । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र सुरु हुनुभन्दा दुई हप्ताअगाडि विद्यालयमा किताब पुर्याउने व्यवस्था गरेपछि समयमै आउने गरेका छन् । गाउँबस्तीका बालबालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरी शैक्षिक सत्रअगाडि पाठ्यपुस्तक पुर्याउने व्यवस्था गरेको छ ।
जाजरकोट सदरमुकाम खलङ्गास्थित राजेन्द्र एण्ड देवेन्द्र पुस्तक पसलका प्रोप्राइटर देवेन्द्र शर्माका अनुसार २०८२ को शैक्षिक सत्र सुरु हुनुभन्दा १० दिनअघि पाठ्यपुस्तक पसलमा पुगेको बताउनुभयो । बालबालिका पाठ्यपुस्तकबाट वञ्चित भन्ने सर्वसाधारणको गुनासो अन्त्य गरी समयमै विद्यार्थीको हातमा पठनपाठन पुर्याइ गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी शैक्षिक सुधार हुनथालेको छ । उहाँका अनुसार समयमै आइपुगेका किताब तोकेको शुल्कमा बुझाएर लैजान विद्यालयलाई सूचना गरेको बताउनुभयो । सात वटै स्थानीय तहमा पाठ्यपुस्तक पुगेका छन् । शैक्षिक सत्र सुरु भएको करिब छ महिनापछि पाठ्यपुस्तक पुग्ने दुर्गम गाउँपालिकामा यतिबेला समयमा पुस्तक पुगेपछि अभिभावकसमेत खुसी भएका छन् । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर मल्लका अनुसार सदरमुकाम खलङ्गादेखि दुई दिनको पैदल दुरीमा रहेको सो गाउँपालिकाका अघिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको बताउनुभयो ।
पाठ्यपुस्तक खरिदका लागि प्राप्त भएको ६४ लाख ५१ हजार रुपियाँमध्ये ४६ लाख ४४ हजार निकासा दिएको भन्दै हात हातमा पुस्तक पाएपछि निकासा दिने जनाउनुभयो । बारेकोट गाउँपालिकामा ४४ वटा सामुदायिक विद्यालय छन् । गत वर्षको ११ र १२ कक्षाको बाँकी रकमसहित निकासा गरिएको छ । शिवालय गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मानबहादुर बस्नेतका अनुसार पाठ्यपुस्तक खरिदका लागि प्राप्त भएको २५ लाख रुपियाँको २५ प्रतिशत बाँकी राखी निकासा दिइएको छ । सूचीकृत भएका पुस्तक पसलबाट विद्यालयले लिन थालेका छन् । सात स्थानीय तहमा पाठ्यपुस्तक पुगेपछि शैक्षिक सुधारमा परिवर्तन हुने स्थानीयको भनाइ छ ।