• २५ चैत २०८१, सोमबार

‘स्वास्थ्य बिमा व्यवस्थित बनाउनुपर्छ’

blog

धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा स्वास्थ्यजाँचका लागि ओपिडी विभागमा प्रतिक्षारत बिरामी । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २५ गते । नेपालमा स्वास्थ्य बिमा लागु भएको नौ वर्ष पुगेको छ । हुनेहरूले नहुनेका लागि योगदान गर्ने तथा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्ने लक्ष्यसहित थालिएको बिमा अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

विशेषगरी ५ जनासम्मको परिवारले ३ हजार ५ सय रुपियाँ तिरेर वर्षभरका लागि १ लाख रुपियाँसम्मको औषधी उपचार निःशुल्क गर्न पाउने व्यवस्थाका लागि बिमा अभियान थालिएको हो । 

यो अभियानले वर्षभरी उपचारमा धाउनुपर्ने, विपन्न नागरिक तथा दीर्घरोगीका लागि सहयोगी बन्दैआएको हो । २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा सुरु भएको थियो । तत्कालीन सरकारले आम नागरिकलाई संविधानको मर्म अनुसार निःशुल्क स्वास्थ्य सेवा दिने अभियानमा बिमा कार्यक्रम जोडेको थियो । पहिलो चरणमा इलाम, बागलुङ र कैलालीमा सुरु भएपछि हाल देशभर यो कार्यक्रम लागु भएको छ । 

बागलुङमा रहेका कुल जनसङ्ख्या २ लाख ४९ हजार २ सय ११ जनामध्ये हालसम्म १ लाख ३४ हजार ६ सय ७३ जना अर्थात् ५४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा बिमित भएको स्वास्थ्य बिमा बोर्ड बागलुङ कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै, जिल्लाका ४३ हजार ३ सय ८१ घरधुरीमध्ये ६७ प्रतिशत घर बिमामा जोडिएका छन् । 

अझैपनि ठुलो सङ्ख्याका नागरिक बिमामा जोडिन सकेका छैनन् । यो अभियानमा जोड्न उपचारका लागि सेवा पाउने प्रथम बिन्दु टाढा भएको, सानो उपचारमा धेरै खर्च गर्न बाध्य भएको र बिमाको योजनामा समावेश भएकाहरूले पनि झन्झटका साथ सेवा पाउनु परेपछि धेरैले विश्वास गर्न नसकेको अवस्था छ । 

‘बिमा गरेको नागरिक उपचारमा आउँदा दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भोग्नुपरेको धेरै उदाहरण छन्’ स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भन्नुभयो, ‘राज्यको नीतिमा छिरेर गएको नागरिकलाई नै तल्लोस्तरको व्यवहार गर्दा यो बिमा प्रभावकारी नभएको हो ।’

त्यस्तै, स्वास्थ्य बिमा बोर्डमा हरेक नागरिकले सूचीकृत भएझैं हरेक कर्मचारीको न्यूनतम भए पनि तलब काटेर प्रभावकारी बनाउनुपर्ने सरोकारवालाको सुझाव छ । साथै, बिमा भने पनि नचाहेको औषधी लिनका लागि दबाब गर्ने, बिरामी नै नभएको व्यक्तिले होलबडी परीक्षण भनेर खर्च गराउने चलन बढे पनि यो अभियान सफल बनाउनुपर्ने धौलागिरि प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमित ढुङ्गानाले बताउनुभयो ।

डा. ढुङ्गानाले स्वास्थ्य बिमाकै कारण आम नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको भन्दै शत प्रतिशत बिमामा जोडियो भने विभेद हुनेदेखि अन्य झन्झट पनि अन्त्य हुने बताउनुभयो । 

राज्यले व्ययभार बढी भयो भनेर रकम विनियोजन नगरेकाले बिमा भुक्तानीमा समस्या आएको चर्चाले नागरिकमा बिमा नवीकरण गर्ने तथा नयाँ बिमीतलाई शङ्का उत्पन्न भएको नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ ले बताउनुभयो । 

‘बिमा बारेका भ्रम यथार्थ हुन् भने राज्यले बेलैमा सम्बोधन गर्नुपर्छ’ थापाले भन्नुभयो, ‘केही कठिनाइ भए पनि बढी हल्लाहरूलाई निस्तेज पार्नुपर्छ ।’