विजयकुमार साह
ढल्केबर, चैत २५ गते । कुनै सयम धनुषाको धनुषाधाम नगरपालिका तरबुजा खेतीका लागि उर्वरभूमि मानिन्थ्यो । यहाँका प्रत्येक खेत हरिया तरबुजाले भरिएको हुन्थ्यो । स्थानीय किसानको मुख्य आम्दानीको स्रोत पनि यही खेती थियो । तर, पछिल्लो केही वर्षयता यहाँ तरबुजा उत्पादनमा निकै गिरावट आएको छ । बिरुवामा रोग लाग्ने, उत्पादन लागत नउठ्ने र बजार समस्याले धनुषाधामका किसान निराश बनेको हो ।
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ । जहाँ प्रति कट्ठा करिब तीन हजार रूपैयाँ खर्च भएको छ । विगतमा तीन बिघासम्म तरबुजा खेती गर्दै आउनुभएका यादव अहिले खेती घटाउँदै जानुभएको छ । बजार समस्या र उत्पादन लागत नउठ्ने भएकाले तरबुजाको उत्पादन क्षेत्र उहाँले घटाउनुभएको हो ।
लगभग २० वर्षअघिसम्म नेपालमा सबैभन्दा धेरै तरबुजा उत्पादन हुने क्षेत्रको रूपमा धनुषाधाम परिचित रहेको उहाँले दाबी गर्नुभयो । तर पछिल्लो समय यो खेतीबाट फाइदा नदेखेपछि यहाँका किसान तरबुज उत्पादन छोडेर चैते धानलगायत अन्य बाली लगाउन थालेको यादवले बताउनुभयो ।
यसवर्ष जरा सुक्ने समस्याले तरबुजा उत्पादन झनै घट्ने बताउँदै यादवले १० कट्ठामा लगाएको तरबुजा बाली जरैबाट सुक्न थालेको समस्या उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “खै के रोग लाग्यो । कृषि प्राविधिक बोलाएर देखायौं । उहाँले पनि अब यसलाई बचाउन नसकिने जवाफ दिनुभयो ।” सोही ठाउँका अर्का किसान भगवानी साह पनि यसपटक आठ कट्ठामा तरबुजा खेती गर्नुभएको छ । पहिले दुई बिघा जमिनमा खेती गर्दै आउनुभएको साहले यो व्यवसायमा २५ वर्ष बिताइसक्नुभएको छ । तर अहिले उहाँ पनि जरा सुक्ने समस्याले पिरोलिनु भएको छ ।
उहाँले भन्नुभयो, “तरबुजाको जरा सुक्न थालेकाले छ । कुन रोग हो थाहा छैन । मौसमले गर्दा हो कि कुनै रोग केही अत्तोपत्तो छैन । यहाँ न प्राविधिक सहायता पाइन्छ न उपचारको व्यवस्था छ ।” नेपालमा तीन तहको सरकार भए पनि हामी किसानको पिर मर्का बुझ्ने एउटा पनि सरकार नरहेको उहाँले गुनासो गर्नुभयो ।
उहाँले सरकारको तर्फबाट अहिलेसम्म एक रुपियाँको पनि सहयोग नपाएको बताउँदै भन्नुभयो, एक पटक कृषि ज्ञान केन्द्र धनुषाबाट एउटा कर्मचारी आउनुभयो । भन्यो निवेदन दिनुस बिषादी छर्कने ट्याङ्की दिन्छु । त्यो ट्याङ्की लिन जनकपुर तीप पटक पुगेँ । आवातजावत गर्दा दुई हजारभन्दा बढी खर्च भयो । त्यसपछि पनि अर्को दिन आउन भनेपछि लिन नै गइन । यहाँका सबै किसान आफ्नै लगानीमा सिँचाइका लागि स्यालो ट्युबेल गाडेका छन् भने मलखाद, बिषादी आफ्नै पैसाले खरिद गर्ने गरेको साहले सुनाउनुभयो ।
उहाँले अलिअलि उत्पादन भइहाले पनि बिक्री गर्न बजारको समस्या रहेको बताउनुभयो । यहाँ भारतीय तरबुजाले बजार ओगटेकाले यहाँको उत्पादनले बजार नपाउने समस्या रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यहाँको भन्दा भारतमा आधा खर्च तरबुजा उत्पादन हुन्छ । भारतीय सरकारले बिउ, मल, प्राविधिक सहयोग र बजारीकरणसम्ममा प्रत्यक्ष सहयोग गर्दा उत्पादन लागत निकै कम लाग्छ । त्यसमाथि यहाँका व्यापारीले पनि भारतबाट आयात गर्दा यहाँका तरबुजा किसान मारमा परेका छन् ।
स्थानीय किसानहरूले उत्पादन गरेका तरबुजा बिक्री गर्न ट्याक्टर भाडा गरेर ढल्केबर बजार लैजानुपर्छ । कति पटक व्यापारी खरिद नगर्दा बजारमै फालेर फर्कनुपर्ने बाध्यता किसानको छ ।
यहाँका किसानहरू भन्नुहुन्छ, “यदि सरकारले सिँचाइ, व्यवस्था, सुलभ मूल्यमा मलखाद उपलब्ध र रोग नियन्त्रणका लागि प्राविधिक सहयोग मिलाइदिए हामी फेरि पनि ठुलो मात्रामा तरबुजा उत्पादन गर्न सक्छौँ ।”
विगतमा पकेट क्षेत्र मानिएको धनुषाधाममा तरबुजा खेतीमा कमी आए पनि सहिदनगर, सबैला, कमला नगरपालिकामा पर्ने कमला नदीको नदी उकास जमिनमा यसको उत्पादनमा वृद्धि भएको छ ।