रमेश विश्वकर्मा
गुल्मी, चैत २५ गते । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका धेरैजसो नागरिकले सेवा लिएका छन् ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसङ्ख्या रहेको छ ।
हालसम्म यहाँका एक लाख १९ हजार ९५४ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ । संयोजक घिमिरेका अनुसार ५८ हजार २६ पुरुष र ६१ हजार ९२८ महिलाले स्वास्थ्य बिमा गराउनुभएको छ । यस जिल्लाका ४८.६ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो ।
यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ २३ हजार ३९ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको हो ।
यस जिल्लाको मुसिकोट गाउँपालिकाका सात हजार ४५८ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ । कालीगण्डकी गाउँपालिकाका छ हजार ४९०, सत्यवती गाउँपालिकाका १५ हजार २४६, चन्द्रकोट गाउँपालिकाका पाँच हजार ९७८, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार ३५४, छत्रकोट गाउँपालिकाका एघार हजार ६६३, गुल्मीदरबार गाउँपालिकाका नौ हजार ६४९ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ ।
इस्मा गाउँपालिकाका छ हजार ६४०, धुर्कोट गाउँपालिकाका नौ हजार ३२८, मदाने गाउँपालिकाका तीन हजार ३६० र मालिका गाउँपालिकाका सात हजार ७४९ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले ८६१ परिवारको ४ हजार ३१८ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ । सरकारले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ ।
ज्येष्ठ नागरिक (७० वर्ष माथिका) १६ हजार ९५४ जना, एचआइभी सङ्क्रमितका १६५ परिवारको ४८१ जना, कुष्ठरोगी ३ परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ७७१ परिवारका तीन हजार ८८३ जना, जटिल खालको क्षयरोग लागेका ६ परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ ।