• २५ चैत २०८१, सोमबार

लमजुङमा चैते धान खेती घट्दै

blog

लमजुङको मध्यनेपालमा चैते धान रोप्दै किसानहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत २५ गते । विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ हजार हेक्टर जमिनमा चैते धान खेती गरिए पनि आजभोलि मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदै आएको छ । 

पर्याप्त सिँचाइकाे व्यवस्था नहुँदा र श्रमशक्ति हराउँदै जाँदा चैते धान खेती घट्दै गएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । धान रोप्ने समयमा सिँचाइकाे अभाव र भित्राउने बेलामा मौसम अनुकुल नहुँदा क्षति हुने भएकोले किसानहरुले चैते धान खेती कम गर्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । 

“चैते धान खेतीको तथ्याङ्क त राख्ने गरिएको छैन, तर विगतको तुलनामा निकै कम खेती भएको पाएका छौं”, खतिवडाले भन्नुभयो, “खाद्य सुरक्षाका दृष्टिकोणले पनि चैतेधान खेती बढाउनुपर्छ । किसानलाई हौसला र सहयोगको खाँचो छ ।”

नहर तथा कुलो लाग्ने केही स्थानमा किसानले चैते धान रोपाइँ गरेका छन् । चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको हो । लमजुङको राइनास नगरपालिकाको धमिलिकुवा, चक्रतिर्थ, भलायखर्क, मध्यनेपाल नगरपालिकाको भोर्लेटार, इशानेश्वर, करापु, सुन्दरबजार नगरपालिकाको दुराडाँडा, सुन्दरबजार, मर्स्याङ्दी, दोर्दी, क्व्होँलासोँथरका केही भागमा चैते धान रोपाइँ हुन्छ । 

अन्य नगदे बालीबाट आम्दानी बढी हुने भएपछि किसानहरुले धान खेती घटाउँदै गएका कृषि प्राविधिकहरुको विश्लेषण छ । धानको सट्टा किसानहरुले नगदे बालीका रुपमा तरकारी, आलु, खरबुजा जस्ता बाली लगाउन थालेका छन् ।

लमजुङमा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । यसमध्ये १६ हजार हेक्टरमा मात्र बर्खे धान खेती गरिन्छ । सिञ्चाइको ब्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्रको प्राविधिक सम्झाना सेढाईका अनुसार चैते धानको खेती गरिरहेका किसानहरुले हर्दिनाथ-१, अर्वाली, जुडी लगायतका जातका धान लगाएका छन् ।