• २५ चैत २०८१, सोमबार

खानेपानी आयोजना अलपत्र

blog

रामग्राम–११, जमुवाडमा अलपत्र अवस्थामा खानेपानी ओभरहेड ट्याङ्की । तस्बिर : विकास अधिकारी

नवलपरासीपश्चिम समाचारदाता 

नवलपरासीपश्चिम, चैत २५ गते । बजेट अभावमा करिब पाँच दर्जन खानेपानी आयोजना बर्सौंदेखि अलपत्र परेका छन् । लुम्बिनी प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियान अन्तर्गत घर घरमा शुद्ध पिउने पानीको पहुँच विस्तार गर्न खानेपानी आयोजनाको निर्माण गर्ने योजना बनाए पनि बजेट अभावमा आयोजना पूरा हुन सकेका छैनन् । नवलपरासीमा प्रदेश सरकारको लगानी, सङ्घीय ससर्त अनुदान र जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गत ७२ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । यसमध्ये २० वटा आयोजना पनि पूर्ण रूपमा सम्पन्न भएका छैनन् । 

घर घरमा शुद्ध पिउने पानीको पहुँच विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य अनुरूप सघन खानेपानी विकास आयोजना अन्तर्गत ४७ वटा खानेपानी आयोजना सूचीकृत छन् । तीमध्ये आठ वटाबाट मात्रै पानी वितरण भइरहेको छ । बाँकी धेरै आयोजना नाम मात्रैका छन् । काम सुरु नै भएको छैन । प्रदेश सरकारले ४७ वटा खानेपानी आयोजनाको काम गर्न जम्मा सात करोड ९१ लाख रुपियाँ मात्र बजेट विनियोजन गरेको छ । तीमध्ये १२ वटा आयोजनाका लागि एक लाख रुपियाँभन्दा कम बजेट छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार एक लाख रुपियाँभन्दा कम बजेट भएका आयोजनाका सन्दर्भमा के काम गर्ने भन्ने नै अन्योल छ । कार्यालयका प्रमुख इन्जिनियर प्रकाश न्यौपानेले भन्नुभयो, “बजेट कम छ, कतिपय आयोजनाको चालु आर्थिक वर्षमा कुनै पनि काम सुरु गर्न सक्ने अवस्था छैन । गत वर्षको दायित्वसमेत भुक्तानी गर्नुपर्ने गरी बजेट विनियोजन भएकाले बजेट अभावले काम गर्न कठिन भएको हो ।” 

यसै गरी तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत १६ वटा खानेपानी आयोजना सम्पन्न गर्न चालु आवमा जम्मा ५५ लाख ४४ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । चार वटा मात्र योजनामार्फत पानी वितरण भएकोमा बाँकी आयोजना अलपत्र छन् तर बजेट विनियोजनको अवस्था दयनीय छ । ती आयोजना २०७५ सालअगाडिदेखि नै निर्माण सुरु गरिए पनि बजेट खुम्चिँदै जाँदा पूरा हुन सकेका छैनन् । 

त्यस्तै जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गत सङ्घीय सरकारको ससर्त अनुदानमा जिल्लामा नौ वटा आयोजना क्रमागत रूपमा सञ्चालित छन् । तीमध्ये आठ वटा आयोजनाबाट भने खानेपानी वितरण भइरहेको छ । एउटा पूरा हुन बाँकी रहेको छ । सञ्चालनमा आएका आयोजनाको क्षमता विस्तार र बाँकी एउटा आयोजना पूरा गर्न एक करोड २२ लाख रुपियाँ बजेट विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख न्यौपानेले बताउनुभयो । उक्त आयोजना अन्तर्गत चार वटा खानेपानी आयोजना भने क्रमागत योजनाबाटै हटाइएको पाइएकाले समावेश गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । 

धेरै आर्सेनिकयुक्त क्षेत्र अन्तर्गत पर्ने रामग्राम–१२ र १३ मा भने खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएर पाइप विस्तारको क्रममा छ, खानेपानी वितरण हुन सकेको छैन । उक्त खानेपानी आयोजना सम्पन्न गर्न नगरपालिकाले पनि स्थानीय तवरबाट सहयोग गरेको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताउनुभयो ।