• २५ चैत २०८१, सोमबार

पाँचथर उद्योग वाणिज्य संघ निर्वाचनमा नौ सय ६२ जनाले गरे मतदान

blog

पाँचथर उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा मतदान गर्न लाम लागेका व्यवसायी । तस्बिर: राधा लुइटेल

राधा लुइटेल

फिदिम, चैत २४ गते । पाँचथर उद्योग वाणिज्य संघको नया नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा नौ सय ६२ जनाले मतदान गरेका छन ।

 संघमा कुल एक हजार तीन सय ६९ मतदाता थिए ।  १३ औँ साधारण सभा तथा अधिवेशनमा विहान ९ बजे मतदान सुरु भएको मतदान साँझ साढे पाँच बजे सकिएको निर्वाचन अधिकृत सहमान विश्वकर्माले बताउनुभयो ।

संघको अध्यक्ष पदका लागि सत्ता गठवन्धन र गठबन्धन इतरका दल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले नरेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा प्यानल खडा गरेका छन् भने गठबन्धन इतरका दल माओवादी केन्द्र, जसपा, राप्रपा लगायतका दलले रेखा इङ्नाम लावतीको नेतृत्वमा गठबन्धन बनाएका छन् ।

महासचिव पदमा एमाले–कांग्रेस गठबन्धनका चन्द्रप्रसाद काफ्ले निर्विरोध निर्वाचित हुनभएको छ ।

चारजना निर्वाचित हुने उपाध्यक्ष पदमा ६ जना तथा एक–एक जना निर्वाचित हुने सचिव र कोषाध्यक्षमा दुई-दुई जनाको उम्मेद्वारी परेको छ । यस्तै ११ जना निर्वाचित हुने सदस्य पदमा १६ जनाले मनोनयन दर्ता गराएका थिए ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथिको आसनबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नुभएको थियो ।