बोमलाल गिरी
नवलपुर, चैत २४ गते । पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटबल सडक खण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडक खण्डमा सडक विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ ।
चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो । पहिलो ५ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । यहाँ ३ लेनको सडक बन्ने छ ।
जसअन्तर्गत चैत्र २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द हुने छ । जसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिप्पर लगायत हेभी सवारी साधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिने छ ।
त्यसैगरी यात्रुवाहक बस, मिनी बस, जिप कार लगायतका सवारी साधनलाई पूर्वमा दुम्किबासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो ५ दिन दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटोका खाल्टाखुल्टी पुर्ने र बाटो सम्याउनका लागि समय निर्धारण गरिएको छ ।
त्यसैगरी वैशाख १ गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्नका लागि समय दिने गरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन रोकेर सडक विस्तारको काम गरिने भएको हो ।
यसअघि निर्माण कम्पनीले दैनिक सवारी आवागमन बन्द गरेर काम गर्न माग गरे पनि निश्चित समय भित्र काम सक्ने प्रतिबद्धता नजनाएका कारण प्रशासनले सवारी आवागमन गराउने निर्णय लिन सकेको थिएन । तथापि अहिले पनि निर्माण कम्पनीले कुनै प्रतिबद्धता भने नजनाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो।