• २५ चैत २०८१, सोमबार

भलिबलको साख फर्काउने अरुणाको चाहना

blog

कप्तान अरुणा शाही ।

कास्की, चैत २४ गते । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गर्नुभएको छ ।

सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताउनुभयो । 

प्रतियोगिता संयोजकसमेत रहनुभएकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।” एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।

विशेषगरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । “पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो”, शाहीले भन्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले तीन  हजार प्राप्त गर्ने छन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान दुई हजार र महिलातर्फ समान एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क छ हजार ५०० र महिलातर्फ तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताउनुभयो ।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । रासस