रामकृष्ण बोहरा
बागलुङ, चैत्र २३ गते । आधुनिक मुद्राको प्रचलन अघिनै यहाँ वस्तुहरूको विनिमय हुन्थ्यो । वर्षभरी घरायसी प्रयोजनका लागि आवश्यक सामग्रीको जोहो गर्न बागलुङ र आसपासका नागरिकको भरोसा आफ्नै घरमा उत्पादन भएका वस्तुमा नै थियो । आफ्नो घरमा उपभोग गरेर बचेको वस्तु मेलामा पुर्याउने र अरु कसैले उत्पादन गरेको वस्तुको उपभोग गर्नेगरी घर ल्याउने चाँजोपाँजो चैत्राष्टमी मेलाले जुराउँथ्यो ।
चैतेदसैँ मेला धार्मिक दृष्टिकोणले जति महत्त्वपूर्ण छ त्यति नै महत्त्वपूर्ण वस्तु विनिमय गर्ने थलोको रूपमा छ । मेलामा परम्परागत रूपमा घरेलु सीपबाट उत्पादित वस्तुहरूको बिक्री वितरण हुने गर्छ । निगालोको चोयाबाट बन्ने डोको, डाली, नाङ्लो, सोली थुन्से, मान्द्रो, दारका ठेका, भान्सादेखि कृषि क्षेत्रमा प्रयोग हुने औजारहरू र मनोरञ्जनका साधनहरू डम्फु मादलको व्यापार हुने गर्छ ।
बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघाजस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामग्री मेलामा ल्याउने गर्छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी पनि मेलाको आर्कषण छन् ।
मेलामा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामग्रीको बिक्री गर्ने चलन छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँ गाउँबाट सयौं मेला भर्न आउने गर्छन् । मेला सुरु हुनु साताअघि नै कालिका मन्दिर परिसरमा ग्रामीण क्षेत्रबाट साना व्यवसायी आइसकेका छन् ।
चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भए पनि बुधबारदेखि भने विशेष मेलाकै आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुहुन्छ । देशभरबाट मेला अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ ।
चैतेदसैंको प्रतिपदादेखि रामनवमीसम्म पाँच लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने गुठीको आँकलन छ । चैतेदसैंको अवसर पारेर गाउँगाउँ र विभिन्न जिल्लाबाट कालिका मन्दिरको दर्शन र मेला भर्न आउनेहरूको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको समेत व्यवस्था गरेको छ ।
घरेलु उत्पादनका सामाग्रीहरू मेलामा रुचाउन छोडेको उहाँको भनाइ छ । वर्षभरी उत्पादन गरेको निगालोको चोयाँको डाली, नाङ्ला र डालो चैतेदशै, रिडि र शान्तिपुरको मेलामा व्यापार गर्दै आएपछि सोचेजस्तो नाफा कमाउन नसकेको दिक्दारी व्यक्त गर्दै भन्नुभयो, ‘‘अब चोयाको उत्पादनबाट जीवन धान्न सकिन्न ।’’
आयातित र आधुनिक सामाग्रीमा उपभोक्ताको आर्कषण बढ्दा ठेकाको व्यापारै हुन छाडेको बलेवा अमलाचौरका व्यवसायी प्रेम चुदारा बताउनुहुन्छ । ‘‘चलिआएको परम्परा धान्न मात्रै ठेका लिएर मेलामा आएको हुँ,’’ चुदाराले भन्नुभयो ।
घरेलु हात हतियार, खुकुरी, बाउसो, हँसियाका साथै स्थानीय मास्टहरूले तयार गरेका इष्टकोट र दौरासुरवाल मेला देखिनै छाडेको स्थानीय समाजसेवी दुर्गाबहादुर आचार्य बताउनुहुन्छ । बढ्दो आधुनिकताले नेपाली समाजलाई छपक्क छोप्दा मेलापर्वको मौलिकता लोप हुँदै जान थालेको प्रति आचार्यले दुखेसो पोख्नुभयो ।