लीलाधर वली
घोराही, चैत १८ गते । राजपुर गाउँपालिकाको विकटबस्ती सिमगजरीमा सडक पुगेको छ । नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत राजपुर गाउँपालिका–७ मा पर्ने सिमगजरी गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयलाई सहजता भएको हो ।
गाउँपालिकाको भौगोलिक रुपमा विकटबस्ती सिमगजरीमा सडक पुगेपछि स्थानीयवासी खुसी भएका छन् । सडक नहुँदा दैनिक ५-६ घण्टा पैदल हिडेर गाउँपालिका तथा बिरामी पर्दा स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । सडक निर्माण भएसँगै अब यातायातका साधनहरु सिमगजरीसम्म पुग्न सक्ने भएका छन् ।
सडक नहुँदा सिमगजरीका करिब ६० घरका स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता रहे पनि सडक बनेसँगै बाध्यता हटेको स्थानीय ७० वर्षीया सुमित्रा राना बताउनुहुन्छ ।
गाउँमा सडक नहुँदा घरमा आवश्यक सामग्री ल्याउनदेखि बिरामी पर्दा उपचार गर्न बिरामीलाई डोकोमा बोकेर गङ्गादीसम्म जानुपर्ने बाध्यता भएको भन्दै उहाँले सडक निर्माण भएसँगै हटेको बताउनुभयो । उहाँले भन्नुभयो, "गाउँमा सडक नहुँदा स्थानीयले धेरै दुःख पाएका थिए, घरमा चाहिने सामग्री किन्नसँगै बिरामी पर्दा औषधी गर्नका लागि अस्पताल जान समस्या हुने गरेको थियो ।" स्थानीयको बर्षाैदेखिको सडक बनाउनुपर्ने माग बल्ल पुरा भएको बताउनुहुन्छ ।
सडक निर्माणले हिँडडुलमा सहजतासँगै स्थानीयले उत्पादन गरेका कृषि सामग्री बजारसम्म लैजान सहजता भएको अर्का स्थानीय बलराम गिरी बताउनुहुन्छ । गाउँमा तरकारी उत्पादनसँगै पशुपालन हुने गरेपनि सडक नहुँदा बिक्री गर्न जानै समस्या हुने गरेको भन्दै अब बढी भएको उत्पादन बिक्री गर्न लैजान सहजता भएको बताउनुभयो । सिमगजेरीसम्म सडक पुर्याउनका लागि गाउँपालिकाले तीन वर्षअघिदेखि सडक निर्माणको काम सुरु गरेको थियो ।
गंगटी, उत्तरखुट्टी हुँदै सिमगजेरी सडक पुर्याउनका लागि बाँकी रहेको पाँच किलोमिटर सडकको ट्रयाक यो वर्ष निर्माण गरिएसँगै सडक बस्तीसम्म पुगेको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी बताउनुहुन्छ ।
बस्तीसम्म सडक पुर्याउन करिव २० लाख लगानी भएको छ । सडक नहुँदा वर्षेनी स्थानीयले भोग्दै आएको समस्या अब अन्त्य भएको भन्दै अब वर्षादको समयमा पनि सडकलाई सञ्चालन गर्नेगरि लगानी गर्ने बताउनुभयो । गाउँपालिकामा रहेका सवै वस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी लगानी गरिएको भन्दै अध्यक्ष बुढाथोकीले भन्नुभयो,"सडक बनेसँगै स्थानीयवासीलाई सहज भएको छ । बस्तीसम्मै गाडी जान सक्ने भएको छ ।"